काठमाडौं । पूर्वराजदूत केशवराज झाको हत्या गरेको आशंकामा नियन्त्रणमा लिएकाहरुलाई प्रहरीले चरम यातना दिएको तथ्य खुलेको छ । एक महिनाअघि आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेका झाको हत्या भएको आशंकामा प्रहरीले भान्सेमाथि अनुसन्धान सुरु गरेको थियो ।
झाका भान्से सानुकान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटना आफुले गराएको भन्ने कबुल गराउन चरम यातना दिएको खुलेको हो । अपराध कबुल गराउन आफूमाथि प्रहरीले चर्को यातना दिएको उनी बताउँछन् । सानुकान्छा भदौ २८ मा रिहा भएका थिए । भदौ ३ गते बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।
घटनाको अनुसन्धानमा प्रहरीले आफूमाथि चरम यातना दिएको भन्दै क्षतिपूर्ति र सम्बन्धित अधिकारीलाई कारबाहीको माग गर्दै उनले मानव अधिकार आयोगमा निवेदन दिएका छन् । आयोगले त्यसमाथि ‘गम्भीरतापूर्वक छानिबन सुरु गरेको’ जनाएको छ ।
झाको हत्यालगत्तै प्रहरीले भान्से सानुकान्छा तथा मालीहरू जयबहादुर गुरुङ र आइतसिंह तामाङलाई हिरासतमा राखी अनुसन्धान गरेको थियो । त्यसमध्ये भान्से सानुकान्छाका तर्फबाट उनी हिरासतमै हुँदा उनका भाइ धनबहादुरले आयोगमा उजुरी गरेका हुन् ।
‘मलाई प्रहरीले हत्या गरेको हो भन् कि भन् भने । गर्नु नगर्नु गर्यो हजुर,’ पक्राउ परेको २४ दिनपछि ८ हजार धरौटीमा रिहा भएका काभ्रे खोपासीका सानुकान्छा भन्छन्, ‘यातना सहन नसकेर भाइलाई मैले उजुरी गर्न लगाएको हुँ ।’
सानुकान्छाका अनुसार प्रहरीले अपराध कबुल गराउन फरकफरक ढंगबाट यातना दिने र तर्साउने काम गरेको थियो । ‘सुरुका केही दिन मलाई पाइतालामा कालो पाइपले बेस्सरी पिटे,’ उनी भन्छन्, ‘ल भन् किन मारिस् भनेर केरकार पनि धेरै गरे । तर, मैले मारेको भए पो यस कारण मारेँ भन्नु, नगरेको दोषलाई जति पिटे पनि मैले कबुल गर्न सकिनँ ।’
महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पाइपले कुट्दा नबकेपछि चौथो दिनदेखि आफूलाई दिने यातनामा बदलाब आएको उनी बताउँछन् । ‘त्यसपछि मुख बन्द गराएर मेरो नाकबाट पानी हाल्ने काम भयो,’ हिरासतमा भोग्नुपरेको यातनाबारे उनी सम्झन्छन्, ‘यस्तो गर्दा सासै जाला जस्तो हुँदोरहेछ, त्यतिबेला मैले बाँच्ने आसै गरेको थिइनँ ।’
तीन दिनजति यसरी सताउँदा पनि सानुकान्छाले इन्कारी बयान दिई नै रहे । ‘त्यसपछि मलाई साँझ ८ बजे आँखामा पट्टी बाँधी भ्यानमा हालेर जंगलमा लैजाने काम भयो,’ सानुकान्छाले आफूलाई सबभन्दा डर लागेको क्षणबारे भने, ‘त्यहाँ लगेर तँलाई बाँच्न मन छ भने अपराध कबुल गर् होइन भने गोली खाने भइस् भने प्रहरीले । केही अन्तिम इच्छा छ भने भन् भनेर पनि सोधे ।’
त्यतिबेला आफूलाई बाँच्नु यति नै रहेछ क्यार जस्तो लागेको उनी बताउँछन् । ‘मलाई गोली हान्नुस्, खान तयार छु भनेँ मैले,’ सानुकान्छा भन्छन्, ‘ज्यानै गए पनि गर्दै नगरेको अपराध म कसरी कबुल गर्न सक्थें र ?’ जस्तै गरे पनि नबकेपछि प्रहरीले उनको पट्टी खोलिदिए । ‘यसो नियालेको त पशुपतिको जंगल रहेछ,’ उनी भन्छन्, ‘त्यहाँबाट मलाई फेरि टेकु नै लगेर थुने ।’
त्यसपछि आफूलाई पाटनस्थित मानसिक अस्पतालमा लगियो । ‘त्यहाँ मेरो पाखुरामा एउटा सुई लगाए, त्यसपछि चार दिनसम्म मेरो मगजले काम गर्न सकेन,’ उनी भन्छन्, ‘त्यसरी सुई लगाएपछि त दिमागै अर्कै हुँदोरहेछ ।’ सानुकान्छा पाटनमा लगाइएको सुईले अर्धचेतजस्ता भए । ‘यस्तोमा आफूलाई सोधेको थाहा भए पनि के सोधे र जवाफ के दिएँ भन्ने थाहा हुँदोरहेनछ,’ बेहोसमै पनि मैले अपराध कबुल गरिनछु, कसुर भएको भए पो कबुल गर्थें त १ त्यसपछि मलाई थप केही दिन राखेर २४ औं दिनका दिन प्रहरीले छाडिदिए ।’
अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह भने सानुकान्छालाई त्यस्तो कुनै यातना दिने काम नभएको बताउँछन् । ‘हामीले यातना दिएका छैनौं, अनुसन्धानका क्रममा पक्राउ गरेर सोधपुछ गरेका हौं,’ उनी भन्छन् ।





























प्रतिक्रिया