काठमाडौं
प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन ५ असोजमा हुने भएको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदीय समितिको सभापति चयनका लागि असोज ५ गते बिहान ११ बजे निर्वाचन कार्यक्रम राखिएको जानकारी गराए ।
त्यस अनुसार संसद सचिवालयलाई सूचना प्रकाशन गर्न महराले निर्देशन दिए । प्रतिनिधिसभाका समितिहरूको सभापति चयन हुन नसक्दा हालसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुँदै आएको छ । यसअघि पटकपटक सभापति चयनका लागि तोकिएको मिति सर्दै आएको छ । प्रतिनिधिसभामा १० वटा विषयगत र तीन वटा विशेष समिति रहेका छन् । विशेष समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सदस्यको प्रतिनिधित्व हुन्छ । राष्ट्रियसभाका चार वटा विषयगत समितिमा भने सभापति चयन भइसकेको छ ।
प्रतिनिधिसभा अन्तर्गतका १० संसदीय समितिका सभापतिको निर्वाचन अनिश्चित हुँदा संसदीय समितिले नेतृत्व पाउन सकेका छैनन् । राजनीतिक दलले प्रतिनिधिसभाका १० समितिमा उम्मेदवारको टुंगो लगाउन नसक्दा गत १७ भदौका लागि निर्धारण गरिएको निर्वाचन पनि सूचना टाँसेर स्थगित भएको थियो ।
निर्वाचन प्रक्रिया सुरु हुँदै गर्दा १५ भदौमा संसद सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको थियो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार १० समितिमा सभापतिका आकांक्षी बढी भएपछि दलहरूले निर्वाचन कार्यक्रम सार्न आग्रह गरे अनुसार नै सभामुखले निर्वाचन कार्यक्रम स्थगित गरेका थिए ।
राजधानीबाट





























प्रतिक्रिया