वाग्मती सफाइ महाअभियान : ४०० औँ हप्तालाई विशेष बनाइने

वाग्मती सफाइ महाअभियान : ४०० औँ हप्तालाई विशेष बनाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ । सो अवसरमा केही विषयलाई स्पष्ट पारेर अघि बढ्नु पर्नेमा मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेलले जोड दिएका छन्।

भर्चुअल माध्यमबाट आइतबार आयोजना गरिएको छलफल कार्यक्रममा उनले महाअभियान विनापैसाको एवं कुनै समिति नबनाई सञ्चालनमा रहेको बताए । “महाअभियानमा धेरै पैसा आएको छ, त्यही भएर अभियानकर्मी लामो समयदेखि लागिपरेका छन् भन्ने भ्रम आम मानिसमा परिरहेको छ । निःस्वार्थ वाग्मती किनारमा जम्मा भएर दिसापिसाब लगायत फोहर सफाइ गर्दा पनि पैसाका पछि लागेको आरोप खेप्नु परेकाले यसलाई जनसमक्ष प्रष्ट पार्नु पर्छ”, चीनका लागि पूर्वनेपाली राजदूतसमेत रहेका पौडेलले अभियानकर्मीलाई सम्बोधन गर्दै भने। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग सहकार्य गरेका कारण यस्तो आरोप लागेकामा पुनःविचार गर्न अभियानकर्मीले माग गरेका छन् ।

महाअभियान शुरु भएको १२ हप्तासम्म पनि अधिकार सम्पन्न वाग्मती महाअभियानसँग जोडिएको थिएन । कार्यक्रममा अभियानकर्मी ओम बस्नेतले अधिकार सम्पन्न वाग्मतीसँग सहकार्य नगरी स्वतन्त्र स्वयंसेवी महाअभियानका रुपमा वाग्मती सफाइलाई अघि बढाउनु पर्ने बताए ।

विगतमा भगवान्दास मानन्धरले एक्लै वाग्मती सफाइ शुरु गरेजस्तै स्वयंसेवी अभियानकर्मी मात्र सहभागी भएर सफाइ अभियानलाई अघि बढाउनु पर्नेमा कार्यक्रममा अभियानकर्मी राजकुमार भट्टराई, नारायणकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, गोविन्द काफ्ले, चक्रबहादुर चन्द, प्रिया लामिछाने लगायतले जोड दिएका थिए । हुतराम वैद्यले पनि लामो समयसम्म एक्लै वाग्मती सफाइ चलाएका थिए।

अभियानकर्मीले सो दिन वाग्मती लगायत यसका सहायक नदीका मुहान क्षेत्रमा माछाका भुरा छाडेर सकारात्मक सन्देश दिनु पर्नेमा पनि उनीहरुले जोड दिएका थिए । वाग्मती लगायत यसका सहायक नदीको दायाँबायाँ खाली रहेको जग्गामा बगैँचा बनाएर पनि नदी सभ्यता संरक्षणमा सहयोग गर्न सकिने अभियनकर्मीको भनाइ थियो ।

अभियानकर्मीसमेत रहेका पूर्वसचिव किशोर थापाले कोरोना भाइरसको सङ्क्रमणका कारण अभियानकर्मी टाढा हुन थालेकाले उपत्यकाका १८ वटै स्थानीय तहलाई वाग्मती र यसका सहायक नदी सफा राख्न जिम्मेवार बनाउने गरी कार्यक्रम अघि बढाइनु पर्ने बताए । उपत्यकावासीका घरघरमा सफाइ अभियानका विषयमा चेतना जगाई कुहिने र नकुहिने फोहरलाई छुट्याएर वर्गीकरण गरिनुपर्ने उनको भनाइ थियो ।

अभियानकर्मी डा लक्ष्मी पौडेलले वाग्मती सफाइ महाअभियानमा अधिकार सम्पन्न वाग्मती समितिसँगै उपत्यकाका स्थानीय तह र वडालाई पनि जिम्मेवार बनाइनु पर्नेमा जोड दिइन् ।रासस

Logo