धादिङ
गरे जे पनि हुन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् धादिङको गजुरी गाउँपालिका–५ स्थित राई गाउँका महिलाहरू । ऋण काढेर गर्जो टार्ने समस्या अब उनीहरूसँग छैन । आत्मनिर्भर बन्न सहुलियत ऋणमा व्यवसायतिर मात्र उन्मुख छैनन्, गाउँको विकासकै लागि पनि अग्रसर हुन थालेका छन् ।
सीता राईले आफूसँग भएको केही रकम निरन्तर समूहमा बचत थालिन् । र केही समयपछि ५० हजार ऋण लिएर किराना पसल थालिन् । उनको किराना पसल राम्रोसँग चलेको छ । साथै उनी ग्रामीण विकासका अन्य काममा पनि सक्रिय हुन्छिन् ।
बालकुमारी सामाजिक परिवार समूहकी सदस्य सीतालाई घर खर्च चलाउन समस्या छैन । उनी जस्ता थुप्रै महिला बचतपछि आत्मनिर्भर बनेका छन् । दैनिकी फेरिएको छ । ममता राईले समुदायमा परिवर्तन देखिन थालेको बताइन् । गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बनेका महिला दिदीबहिनी नेतृत्व विकास तथा विकास निर्माणका काममा पनि उत्तिकै सहभागी बन्न उत्साहित बनाएको उनको अनुभव छ । भन्छिन्, ‘स्वरोजगारको अवसर मात्र मिलेको छैन, विकास निर्माणमा सहभागिता सहित चेतनाका काममा पनि अग्रसर हुन सजिलो भएको छ ।’
समुदायका निरक्षर ‘राई’ महिला साक्षर हुन थालेका छन् । समूहमा बसेपछि उनीहरू स्थानीय निकायले प्रदान गर्ने सेवासुविधाबारे सजग छन् । पहिले घर व्यवहार, औषधि उपचार गर्नका लागि महँगो ब्याजमा ऋण लिएर तिर्न सकस भएको पीडा सम्झिन चाहँदैनन् उनीहरू । भन्छन्, ‘बिनाधितो ऋण पाउने भएपछि व्यवसाय चलाउनका लागि सहज भएको छ ।’
केही वर्ष अघिसम्म गाउँमा नयाँ मान्छे देख्दा बोल्न त के नजिकै आउन पनि डराउने उनीहरू निर्धक्क साथ आफ्नो परिचय दिन सक्ने मात्रै भएका छैनन्, गाउँमा आइपर्ने समस्याहरू समाधानका लागि पहल गर्न सक्ने भएका छन् । राईगाउँका १४० घर परिवारका महिला अहिले सक्रिय छन् । ‘समूहको बैठकले हामीलाई स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाबारे पनि उत्तिकै चेतनशील बनाएको छ,’ सीताले भनिन् । पिछडिएका राई महिलालाई सक्षम बनाएर समाजमा परिवर्तन देखिने खालका काम गराउन सामाजिक परिवार सफल हुँदै गएको समग्र विकास सेवा केन्द्र धादिङका जिल्ला संयोजक रुद्र कोइरालाले बताए ।
बचत समूहमा मासिक रूपमा १० रुपैयाँबाट सुरु गरेको बचत बढेर अहिले एउटा समूहमा २ लाख नाघिसकेको समूहकी अध्यक्ष फुलमाया राई बताउँछिन् । संस्थामा बचत गर्दै आएका मध्ये कसैलाई पैसाको आवश्यक परेमा समूहबाट एकपटकमा एक जनालाई ५० हजार रुपैयाँसम्म ऋण दिन सक्ने भएको उनी बताउँछिन् ।
राजधानीबाट





























प्रतिक्रिया