काठमाडौँ
गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार बिहान काठमाडौँ ल्याइने भएको छ ।
घटनास्थलबाट शव सङ्कलन गरी उद्धारमा गएको हेलिकप्टर अवतरण भएको स्थानसम्म ल्याइसकिएको र मौसमले साथ दिए आइतबार बिहान हेलिकप्टर मार्फत शव काठमाडौँ ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिकामा शनिबार बिहान दुर्घटना हुँदा त्यसमा सवार सात मध्ये ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८ ), रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् ।
दुर्घटनामा एक मात्र यात्रु आनी डोल्मा बाँच्न सफल भएकी थिइन् । डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ ।
रासस































प्रतिक्रिया