उच्चस्तरीय छानबिन समितिले १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीबाटै गल्ति भएको निष्कर्ष निकालेको छ । शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरि समितिले यस्तो निष्कर्ष सार्वजनिक गरेका हुन् ।
घटनाको अनुसन्धानमा त्रुटि भेटिएको भन्दै समितिका संयोजक हरिप्रसाद मैनालीले अनुसन्धानका क्रममा थुप्रै तथ्यहरु फेला पारेको बताए । कञ्चनपुरमा त्यसै आन्दोलन भएको नभई खास कारण हुन् सक्ने उनले बताए । समितिका संयोजक मैनालीले अनुसन्धानमा प्रहरी प्रमुखकै गैरजिम्मेवारीपन देखिएकाले उनलाई कारबाहीका लागि सिफारिस गरिएको बताए । उनले अन्य प्रहरी अधिकृत र अनुसन्धानमा खटिएको टिमसँग पनि सोधपुछ गरेर आवश्यक परे कारबाहीका लागि सिफारिस गर्न सकिने बताए । त्यस्तै छानबिन समितिका सदस्य प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठले पनि प्रहरीबाटै लापर्वाही भएको बताए ।
पीडित परिवारले जानकारी गराउनेबित्तिकै प्रहरीले अनुसन्धान गरेको भए अपराधी पत्ता लगाउन सजिलो हुने समितिको निष्कर्ष छ । टोलीले घटनाको छानबिन तथा थप अनुसन्धान गरिसकेकाले ३/४ दिनभित्र प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाउने जनाएको छ ।
कन्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मलाको गत साउन १० गते हत्या गरिएको थियो । हत्या गरेर शव उखुबारीमा फालिएको अवस्थामा ११ गते भेटिएको थियो । पछि बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो ।
गृह मन्त्रालयले निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धानका लागि गृहका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी भदौ ८ गते कञ्चनपुर पठाएको थियो ।
बास्तविक अपराधी पक्राउ नगरेको भन्दै स्थानीयले गरेको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको थियो भने दुइ दर्जन भन्दा बढी घाइते भएका थिए ।





























प्रतिक्रिया