प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं निजामती सेवा दिवसको उपलक्ष्यमा निजामती कर्मचारीहरुलाई शुभकामना दिँदै आलश्य नहुन अपिल गरेका छन् । "/>

‘आलश्य नहुने कर्मचारी चाहियो’- प्रधानमन्त्री

‘आलश्य नहुने कर्मचारी चाहियो’- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं निजामती सेवा दिवसको उपलक्ष्यमा निजामती कर्मचारीहरुलाई शुभकामना दिँदै आलश्य नहुन अपिल गरेका छन् । उनले सरकारको अभियानमा साथ दिन आग्रह गरे ।

‘निजामती कर्मचारीसँग विशेषज्ञता, व्यावसायिकता, सूचनामा पहुँच, स्थायित्व र निरन्तरता साथै कानूनी र प्रकृयागत जानकारीको अपेक्षा गरिन्छ । त्यसैले स्वपनदर्शी राजनीतिक नेतृत्व र व्यावसायिक कौशल, विज्ञता र इमान्दारीले भरिपूर्ण कर्मचारी प्रशासन लोकतन्त्रको जग हो,’ प्रधानमन्त्रीले आफ्नो अपिलमा भनेका छन्, ‘नेपाली जनताले यस्तै जगमा खडा भएको आदर्श र समग्र लोकतन्त्रको परिकल्पना गरेका छन् । राजनीतिक नेतृत्वले अघि बढाएको रुपान्तरणको अभियानलाई अझ गति प्रदान गर्न रत्तिभर आलस्य नगर्ने, जिम्मेवारी वोध गर्ने र दोषारोपणको संस्कृतिभन्दा माथि उठेको निजामती प्रशासनले मात्र यो परिकल्पनालाई साकार पार्न सक्नेछ ।’

निजामती सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको बताउँदै प्रधानमन्त्रीले सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको उल्लेख गरेका छन् । राज्यका नीति, योजना र कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ ।

‘जननिर्वाचित संविधान सभाबाट संविधानको निर्माण भई तीन वटै तहका निर्वाचन सम्पन्न भइसकेको अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक संरचना संस्थागत भइसकेको छ,’ शुभकामनामा लेखिएको छ, ‘त्यसैअनुरुपको प्रशासनिक संरचनाको स्वरुप निर्धारण भइसकेको छ । अनि यतिखेर, प्रशासनिक संरचनालाई संस्थागत गर्ने विधि र प्रकृया पनि अघि बढिरहेको छ ।’

नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दहे राजनीतिक इच्छाशक्ति भएको नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, नवप्रवध्र्दनात्मक, सिर्जनशील, प्रविधिमैत्री, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम, कार्यकुशल र परिणाममुखी प्रशासन अपरिहार्य रहेकोमा प्रधानमन्त्रीको जोड छ । ‘वर्तमान सरकार यही अवस्थाको सिर्जना गर्न प्रतिवध्द हुँदै समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ अग्रसर छ । त्यसैले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता हो । निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने कर्मचारीतन्त्रले व्यक्तिगत स्वार्थभन्दा मुलुक र जनताको स्वार्थलाई महत्व दिने गर्दछ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यस्तो निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्नेछौं । तसर्थ राष्ट्रसेवकको पहिलो अभिभारा राष्ट्रप्रति समर्पित र जनताको सेवामा कटिवद्ध रहँदै एक्काइसौं शताब्दीका नागरिकको अपेक्षाको सम्बोधन गर्न घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्नु नै हो ।’

Logo