काठमाडौं
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन् । परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाको तुलनामा बढी पास भएका छन् ।
काउन्सिलका अनुसार सन् २०१६ मा चिकित्सा शिक्षामा स्नातकोत्तर पास गरेका पाँच सय ९२ जना लाइसेन्स परीक्षामा सहभागी थिए । ती मध्ये दुई सय १२ जना फेल भएका थिए । सन् २०१७ को परीक्षामा एक हजार चार सय ८१ जना स्नातकोत्तर डाक्टर सहभागी थिए । ती मध्ये पाँच सय २० जना फेल भएका थिए । त्यस्तै सन् २०१८ मा ६ सय ८७ जना डाक्टरले परीक्षा दिँदा दुई सय ६६ जना फेल भएका छन् ।
मेडिकल काउन्सिलको परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर आएका नेपाली युवा बढी फेल हुने गरेका छन् । यस्तै भारतमा डेन्टल सर्जरी पढेर आएका युवा सबैभन्दा बढी फेल हुने गरेको तथ्यांक छ ।
सन् २०१६ मा तीन हजार तीन सय नौ जना एमबिबिएस डाक्टर लाइसेन्स परीक्षामा सहभागी थिए । ती मध्ये एक हजार एक सय पाँचजना फेल भएका थिए । सन् २०१७ मा परीक्षामा सहभागी दुई हजार ३८ जना मध्ये आठ सय ५५ जना फेल भएका थिए । सन् २०१८ मा एक हजार ६ सय ५० जना एमबिबिएसले लाइसेन्स परीक्षामा सहभागी जनाएकामा चार सय २४ जना फेल भएका छन् ।
काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा चिकित्साशास्त्र अध्ययनका लागि विदेश जानेहरू थोरै अंक ल्याएर फेल हुने गरेको बताउँछन् । ‘हाम्रा प्रश्न निकै स्ट्यान्डर्ड हुन्छन् जसले चिकित्साशास्त्र अध्ययन पूरा गरेर पनि पर्याप्त अभ्यास गर्दैनन्, उनीहरू लाइसेन्स परीक्षामा फेल हुन्छन्,’ शर्माले भने ।
अर्कोतर्फ विदेशी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई राम्रो अध्ययन नगरे पनि पास गराइदिन्छन् । ‘विदेशी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई नेपालमै फर्किएर अभ्यास गर्छन् भनेर सहजै पास गराउँछन्’, नाम नबताउने सर्तमा काउन्सिलका एक डाक्टरले भने ।
डाक्टरी पढ्न विदेश जाँदा एकजना विद्यार्थीले करिब ५० लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । नेपालमा भने ३५ लाख रुपैयाँजति खर्चमा डाक्टरी पढ्न पाइन्छ । नेपालमा कतिपय निजी कलेजले डाक्टरी पढ्न एक विद्यार्थीसँग एक करोड रुपैयाँसम्म लिएका घटना सार्वजनिक हुने गरेका छन् । तर पनि नेपालमै पढेका डाक्टरहरु धेरै उत्तीर्ण हुने गरेको पाइएको छ ।
नागरिकबाट































प्रतिक्रिया