काठमाडौं
प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् । समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो । उक्त समयसीमा बुधबार सकिएको हो । सङ्घीय संसद सचिवालयका अनुसार बुधबार साँझ सम्म चारवटा उजुरी दर्ता भएका हुन् ।
सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ । सङ्घीय संसद सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने बताए । उनले भने “तोकिएको १० दिनको समयसीमामा चार वटा उजुरी दर्ता भएका छन् । शुक्रबार बिहान बैठक बोलाइएको छ । सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ ।’
उजुरी सार्वजनिक पछि समितिले पहिले उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ । सुनुवाइ सकिएपछि समितिले अनुमोदन हुने वा नहुनेबारे निर्णय लिनेछ ।
यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्रलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो । सुनुवाइबाट अस्वीकृत भएपछि दोस्रोपटक प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।
गोरखापत्रबाट





























प्रतिक्रिया