दुबई
सरकारले डेढ वर्ष देखि महिला घरेलु कामदारको श्रम स्वीकृति रोकेको छ । पहिल्यै देखि आएर काम गरिरहेकालाई पनि पुनः श्रम स्वीकृति दिँदैन । उक्त नियमका कारण खाडीमा कार्यरत ५० हजार भन्दा बढी महिला बिदामा घर फर्कन पाएका छैनन् । जानेलाई फर्किएर आउन रोकिन्छ ।
गुल्मी तम्घासकी सम्झना पन्थीले आमा बिरामी हुँदा पनि भेट्न जान पाइनन् । ‘आमालाई नेपालमा आईसीयूमा राखिएको थियो । भाइ–बहिनी सानै छन् । स्याहार गर्ने कोही छैन’, उनले भनिन्, ‘जन्म दिने आमालाई त्यस अवस्थामा भेट्न जान मैले पाइनँ । गएपछि सरकारले आउन दिँदैन । उतै बसौं यस्तो राम्रो जागिर छाड्नुपर्छ ।’
उनी यस्तो घरमा काम गर्छिन्, जहाँ उनले छोरीसरह सम्मान पाउँछिन् । ‘मलाई कुनै दुःख चिन्ता छैन । आमालाई भेट्न सम्म घर जान नपाएकामा मेरो म्याडम स्वयम् चिन्तित हुनुहुन्छ’, उनले गुनासो राखिन्, ‘मैले कुनै अपराध गरेको छैन । विदेश आएर जागिर खान किन नपाउनु ? ’
सरकारले घरेलु महिला कामदारलाई भारतका विमानस्थलहरूबाट पनि रोकिदिन पत्राचार गरेको छ । त्यसैले उनीहरू नक्कली भिजिट भिसा बनाई दलालको सहयोगमा आउन बाध्य छन् । भारतीय बाटो हुँदै घरेलु कामदारको मानव तस्करी भइरहेको छ । ‘बैधानिक बाटोबाट आउन रोकियो । तर खाडीमा नेपाली घरेलु कामदार आउने क्रम रोकिएकै छैन’, गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्री भन्छन्, ‘त्यसले उल्टो मानव तस्करी बढायो । खर्च धेरै लाग्ने भयो । असुरक्षा झन् बढ्यो । सरकारले यसमा पुनर्विचार गर्नुपर्छ ।’
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रोक्न भनेपछि २०७३ चैत २० गते सरकारले घरेलु कामदारमा रोक लगाएको हो । समितिका तत्कालीन सभापति प्रभु शाहले त्यसअघि खाडीका विभिन्न मुलुकको भ्रमण गरेका थिए । ‘त्यहाँबाट आएको सुझाव’ भन्दै उनले त्यस्तो निर्देशन दिएका थिए । त्यसमा मुख्य कारण महिला ‘असुरक्षित हुने’ देखाइएको थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया