महेन्द्रनगर
सुदूरपश्चिमको जिल्ला, कञ्चनपुर, भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटना भएको एक महिना भन्दा बढी समय बितिसक्यो । १३ बर्षिया बालिकाका परिवार मात्रै नभएर यस घटनापछि चिन्तित र सशंकित नहुने थोरै होलान् । कक्षा ९ मा अध्ययनरत निर्मलाको हत्यापछि जिल्लाबासी भन्दा पनि उनका सहपाठी छात्रा बढी त्रस्त भएका छन् ।
घटनामा संलग्न दोषीको खोजी र त्यसमाथि कार्वाहीको माग राख्दै लामो आन्दोलन चलिसक्यो । यही क्रममा एक जना युवकले आफ्नो ज्यानको आहुती पनि दिइसकेका छन् । केहि घाइते प्रहरीको गोलीको शिकार भएपछि उपचारका क्रममा छन् । अहिले जिल्लामा उग्र बनेको आन्दोलन केहि दिनयता शान्तप्राय भएको छ । तर निर्मला अध्ययनरत विद्यालयका सहपाठी भने यस घटनापछि अझै त्रसित अवस्थामा छन् ।
शुक्रबार बिहानको भेटमा निर्मलाका निकट छात्रा , मित्रले यस घटनाको वास्तविकता नखुल्दा सबै छात्रामा त्रासको वातावरण छाएको बताए । कक्षा २ देखि संगै अध्ययनरत सहपाठी जानकी भट्टले भनिन्, ‘यो घटनापछि नारी जाती साँच्चिकैं असुरक्षित नै भएको हामीले महसुस गरेका छौं । यो घटनाले महिला कमजोर र असुरक्षित भएको देखाएको छ । चाँडै हत्याराको पत्ता लागोस् । परिवारसंगै निर्मलाले पनि न्याय पाओस् ।’ बढीजसो निर्मला आफ्नै बेन्चमा बस्ने गरेको बताउँदै जानकीले भनिन्, ‘समय–समयमा विद्यालय र घरमा उस्कै झल्को आउँछ । उसको मृत्युपछि कक्षा सुनसानझैं बनेको छ ।’
निर्मलाको बलात्कार र हत्या घटनास्थल नजिकैंबाट विद्यालय आउने उनकी सहपाठी लक्ष्मी बडु झन् त्रसित छिन् । ‘सधैं त्यहि बाटो भएर विद्यालय आउँनु पर्छ । निर्मलाको घटनापछि एक्लै हिँड्न डर लाग्छ’, सहपाठी बडुले भनिन्, ‘पहिले एक्लै विद्यालय आउँथे। अहिले डरले गर्दा भाईसंगै आउने र जाने गरेको छु ।’
निर्मलाको हत्यामा संलग्न रहेको आशंका दिदीबहिनी बबिता र रोशनी बमलाई प्रहरीले हिरासतमा लिएको छ । विहीबार जिल्ला अदालतबाट एकसाता उनिहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिएको कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले बताए ।
साउन १० गते वेपत्ता भएकी निर्मलाको शव दोस्रो दिन घर नजिकैं भीनपा–१९ बागफाँटाको उखुबारीमा फेला परेको थियो । उनि दिउँसो साथी रोशनीको घरमा गृहकार्य गर्ने भन्दै हिँडेकी थिइन् ।
सहपाठीले रोशनी कक्षा ६ देखि संगै अध्ययनरत रहेको र उनको व्यवहार कुशल रहेको बताए । ‘व्यवहार राम्रै थियो । उनको त्यहि आचरणले क्लास मोनेटर थिइन्’, जानकीले थपिन् । चारै सहपाठीले संयुक्त रुपमा निर्मला घटनापछि सरकार प्रमुख , प्रधानमन्त्रीलाई पनि भार शब्द लेख्ने भन्दै कोरे ।
यसअघि पक्राउ गरिएका दीलिप बिष्टलाई स्वास्थ्य परिक्षणका लागि काठमाडौंको शिक्षण अपस्ताल पु¥याईएको छ । ४१ बर्षिय बिष्ट त्यहाँबाट फर्केपछि म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ । मानसिक अवस्था कमजोर भएका बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेपछि आन्दोलन झन चर्केको थियो ।
नागरिकबाट































प्रतिक्रिया