काठमाडौँ
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा सहभागी हुन काठमाडौं आएका विशिष्ट पाहुनाहरु मध्ये ४ जना आज नै स्वदेश फर्कने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज फर्कने भएका हुन् । भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने आज लुम्बिनी गएर शनिबार फर्कने कार्यक्रम छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।
यस्तै सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई आज सरकारले रिट्रिट दिने भएको छ । सरकारले सोल्टी होटलमा रिट्रिट दिने जनाइएको छ । बिमस्टेक सम्मेलनको पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार बिहान ८ः३० बजे देखि १०ः१० बजे सम्मका लागि रिट्रिट कार्यक्रम तय भएको छ ।
सामुहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि रिट्रिटको आयोजना गरिन्छ । सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि रिट्रिट महत्वपूर्ण मानिन्छ । सरकारले गोकर्ण रिसोर्टमा रिट्रिट दिने तयारी गरेपनि चाबहिल–जोरपाटी–साँखु सडकको अवस्था सुधार नभएका कारण सोल्टीमै रिट्रिट दिन लागेको हो ।





























प्रतिक्रिया