काठमाडौँ
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज देखि काठमाडौंमा सुरु हुँदैछ । बिम्स्टेकका सात सदस्य राष्ट्रमध्ये चार राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुख शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आइसकेका छन् भने दुई देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख बिहीबार बिहान काठमाडौं आउने कार्यक्रम छ ।
सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्ड सदस्य छन् । शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबार, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत छान–ओ–छा बुधबार काठमाडौं आइपुगेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री सेख हसिना आज बिहान काठमाडौं आउँदैछन् ।
यसैबीच बुधबार काठमाडौंमा बसेको बिम्स्टेकको १६ औं मन्त्रीस्तरीय बैठक बिम्स्टेकलाई थप मजबुत र नतिजामुखी बनाउने प्रतिबद्धता गर्दै सम्पन्न भएको छ । बैठकमा बिमस्टेकको सबै पक्षको समीक्षा गरिएको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्षता गरेको बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरु बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहम्मद अली, भुटानका विदेश सचिव सोनाम छोङ, भारतका विदेश राज्यमन्त्री भिके सिंह, म्यानमारका अन्तर्राष्ट्रिय विकासमन्त्री यु क्य थिन, श्रीलंकाका विदेश राज्यमन्त्री वसन्त सेनानायके र थाइल्यान्डका विदेशमन्त्री डन प्रमुदभिनाई सहभागी थिए ।
बैठकमा सबै देशका विदेशमन्त्रीले आफ्नो राष्ट्रको औपचारिक धारणा राखेका थिए । त्यसपछि मंगलबार बिम्स्टेक सचिवस्तरीय बैठकले पारित गरेका मुद्दा माथि छलफल भएको थियो । ‘मन्त्रीस्तरीय बैठकले बिम्स्टेक अन्तर्गत हुने सहयोगका सबै पक्षको समीक्षा गर्दै क्षेत्रीय सहयोग प्रक्रिया थप मजबुत बनाउने निर्णय गरेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
नागरिकबाट





























प्रतिक्रिया