काठमाडौं
बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक) सम्मेलनका विशिष्ट पाहुना (भीभीआईपी) का लागि सरकारले एयर एम्बुलेसन्स सहितको चिकित्सकीय सुविधा उपलब्ध गराउने भएको छ । त्यसका लागि विमानस्थल देखि होटलसम्म चिकित्सकसहित अस्थायी एवं आकस्मिक उपचार कक्षको व्यवस्था गरिएको छ ।
भीभीआईपी र आगन्तुक पाहुनाका लागि सम्मेलन केन्द्र तथा प्रतिनिधिमण्डल रहने होटल लगायत उपत्यकाका प्रमुख अस्पतालमा आकस्मिक स्वास्थ्योपचारको व्यवस्था मिलाइएको हो । अस्पतालहरूमा पनि विशेष शैया छुट्याइएको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख चूडामणि भण्डारीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य उपसमितिको संयोजक एवं घटना कमान्डरका रूपमा तोकिएको छ । विशिष्ट पाहुनाका लागि छुट्टै चिकित्सक तथा स्वास्थ्यकर्मीको खटनपटन वीर अस्पतालले मिलाउनेछ । सोल्टी होटल परिसरमा आवश्यक स्वास्थ्यकर्मी, औषधि र एम्बुलेन्स सहितको अस्थायी उपचार कक्षको व्यवस्था समेत मिलाइएको छ ।
वीर अस्पतालका ७, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९, वीरेन्द्र अस्पतालका ११, त्रिवि शिक्षण अस्पतालका ११, निजामती कर्मचारी अस्पतालका ७ गरी ४५ जना चिकित्सक एवं स्वास्थ्यकर्मी सहितको आकस्मिक मेडिकल परिचालन टोली तयारी अवस्थामा छ । वीर, सैनिक, वयोधा, मेडिसिटी, त्रिवि शिक्षण र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा दिन सक्ने गरी तयारी अवस्थामा राखिएको छ । यी अस्पतालमा आवश्यक संख्यामा शैया समेत खाली रहनेछन् ।
यसैगरी वीर र नर्भिक अस्पतालले आकस्मिक मेडिकल परिचालन टोली गठन गरी परिचालन गर्ने, सुपरिवेक्षण गर्ने, आईसीयू, सीसीयू, विशिष्ट तथा अति विशिष्ट उपचार कक्षको व्यवस्था, एम्बुलेन्स परिचालन र सुपरिवेक्षण गर्नेछ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया