मोरङ
मोरङको उर्लाबारीमा एक बालिकालाई अपहरण गरेर लैजाँदै गर्दा एक युवक पक्राउ परेका छन् । देशैभरी बालबालिका अपहरण तथा बलात्कारका घटना बढिरहेका बेला मोरङमा आपराधिक गिरोह बढदै जान थालेको पाइएको छ ।
उर्लाबारी नगरपालिका ६ बाट कमल घिमिरेकी चार वर्षीया छोरी कृतिकालाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा झापाको दमक ८ घर बताउने ३० वर्षीय दिनेश कार्कीलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका हुन् ।
प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले अपहरण गरेको थाहा नपाएको भए र स्थानीयले नियन्त्रणमा नलिएको भए बालिकालाई अपहरणमुक्त गर्न समस्या पर्ने तिमल्सिनाको भनाइ छ । घरको आँगनमै साथीहरुसँग खेल्दै गरेको अवस्थामा सोमबार साँझ ७ बजे बालिकालाई अपहरण गरेर लगभग दुई सय मिटर पर पु¥याएपछि स्थानीयले थाहा पाएका थिए ।
प्रहरीका अनुसार उनीसँगै सात , आठ वर्ष उमेर समूहका अन्य चार/पाँच जना बालबालिका पनि खेल्दै थिए । छोरीलाई उठाउनु अघि उनीसँग खेल्दै गरेका अरुलाई पनि लैजान फकाउने कोशिस गरेको र अरुले नमानेपछि चकलेट र फलफुल किनिदिने भन्दै आफ्नी छोरी लिएर गएको बुवा कमलले बताए ।
उनका अनुसार छोरी कृतिकालाई नयाँ मान्छेले लिएर गएको देखेपछि सँगै खेल्दै गरेका बालबालिकाले घर भित्र गएर सुनाएपछि घटना थाहा भएको थियो । पक्राउ परेका कार्कीले घर दमक बताएपनि नेपाली नागरिकता लगायतका कुनै पनि कागजपत्र पेश गर्न नसक्दा घटना रहस्यमय बनेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका कार्की विरुद्ध अपहरण मुद्धा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । घटना गम्भीर रहेका कारण अनुसन्धानपछि सबै वास्तविक कुरा खुल्दै जाने प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया