काठमाडौँ

पाटन दरबार क्षेत्रमा अवस्थित कलात्मक कृष्ण मन्दिरको जीर्णोद्धार पूराभएसँगै सर्वसाधारणका निम्ति खुला भएको छ । "/>

कृष्ण मन्दिरको जीर्णोद्धार सकियो : दर्शनार्थीका लागि खुला

कृष्ण मन्दिरको जीर्णोद्धार सकियो : दर्शनार्थीका लागि खुला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पाटन दरबार क्षेत्रमा अवस्थित कलात्मक कृष्ण मन्दिरको जीर्णोद्धार पूराभएसँगै सर्वसाधारणका निम्ति खुला भएको छ । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको मन्दिर गोरखा भूकम्पले आंशिक क्षति पुगेकाले मर्मतसम्भार गरिएको हो । मन्दिरको जीर्णोद्धार काठमाडौँ उपत्यका संरक्षण कोषले गरेको हो ।

जीर्णोद्धार सम्पन्न गरी शुक्रबार क्षमापूजा भएको छ । मर्मत गरिएको मन्दिर क्षेत्रको अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले सम्पदा शहरका रुपमा परिचित पाटन राजश्व सङ्कलनमा पनि अगाडि रहेको बताए । पाटन सङ्ग्रहालय, कृष्ण मन्दिर, चार नारायण मन्दिर, विश्वनाथ र देगु तलेजुले पर्यटकलाई आकर्षण गर्ने उनको भनाइ थियो । बाँकी सम्पदाको पुनः निर्माण पनि छिटो सक्न सरकार लागि पर्ने मन्त्री अधिकारीको प्रतिबद्धता छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले देगु तलेजु लगायत मन्दिरको छानामा उम्रिएको घाँस उखेल्न पुरातत्व विभागलाई अनुरोध गरे । स्थानीयवासी ८३ वर्षीय वृद्ध रामप्रसाद अमात्यले मर्मतसम्भारपछि मन्दिरमा पानी चुहिने समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

राजपूत अर्थात मुगल शैलीमा निर्माण भएको मन्दिर ५७ लाखमा जीर्णोद्धार सम्पन्न भएको कोषका निर्देशक रोहित रञ्जितकारले बताए । जीर्णोद्धार सम्पन्न भएपछि शुक्रबार देखि दर्शनार्थीका लागि खुला गरिएको छ ।

महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको पुजारी विष्णुधर राजोपाध्यायले सुनाए । मन्दिरको मर्मतसम्भारका लागि जर्मनीको गेर्दा हेङ्कल फाउण्डेशन र जापानी राजदूतावासले सहयोग गरेको कोषका निर्देशक अमात्यले जानकारी दिए । रासस

Logo