काठमाडौँ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुर घटनाको छानविन गर्न माग गरेका छन् । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि देउवा र दाहालले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानविनको माग गरेका हुन् ।
देउवाले ट्वीटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै घटनाको छानविन गर्न माग गरेका छन् । ‘कञ्चनपुरमा आज प्रहरीको गोली लागी एक बालकको मृत्यु भएको घटनाले म ज्यादै दुःखी छु । मृतक बालकको परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दछु’, देउवाले भनेका छन्, ‘निर्मला पन्तको बलात्कार/हत्याको अनुसन्धानमा सन्देश जनाउने जनता माथि गोली बर्साउने कार्यको म भत्सर्ना गर्छु ।’
उनले निर्मलाको परिवारलाई सुरक्षा दिन, नयाँ शिराबाट विश्वसनीय अनुसन्धान सुरु गर्न र छोरी चेलीको सुरक्षा गर्ने कदम चाल्न पनि माग गरेका छन् । साथै बलात्कारीलाई तत्काल दण्डित गर्न र पीडितलाई न्याय दिलाउन फास्ट ट्रयाक कोर्ट गठन गर्न जरुरी भइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै नेकपाका अध्यक्ष दाहालले घटना लगत्तै प्रधानमन्त्री ओलीलाई फोन गरि कञ्चनपुर घटना गम्भीर रुपमा लिएर उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरेका छन् । घटनाको छानविनका लागि गृह मन्त्रालयले विहीबार सहसचिवको नेतृत्वमा समिति गठन गरेपनि आन्दोलन नरोकिएपछि देउवा र दाहालले उच्चस्तरीय छानविनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
नागरिकबाट





























प्रतिक्रिया