चन्द्रागिरी नगरपालिका: नागढुङ्गा-कलङ्की सडक ‘स्मार्ट’, जमीन बाँझो राखे कर

चन्द्रागिरी नगरपालिका: नागढुङ्गा-कलङ्की सडक ‘स्मार्ट’, जमीन बाँझो राखे कर

केन्द्रबिन्दु
0
Shares

चन्द्रागिरि नगरपालिकाले सबैभन्दा भद्रगोल मानिएको नागढुङ्गा–कलङ्की सडकलाई स्मार्ट बनाइने कार्य योजना ल्याएको छ । नगरप्रमुख घनश्याम गिरीले त्यसका लागि काम गरिरहेको जानकारी दिए ।

नगरपालिकाको कार्ययोजना अनुसार अब यो सडकखण्डमा सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाईने छ । नगरपालिकाले सडकखण्डको दायाँबायाँ करीब एक हजार २०० सोलारबत्ती जडान, वृक्षरोपण एवं नगरबस सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यात्रु चढ्ने र ओर्लने स्थानमा विद्युतीय स्मार्ट प्रतिक्षालय समेत बनाउने भएको छ ।

नगरप्रमुख गिरीले सडक विस्तार कार्य छिटो निर्माण सम्पन्न गर्न सरकारसँग आग्रह गरे । केन्द्रीय सरकारले आवश्यक बजेट र निर्माणको अख्तियारी दिएमा तीन महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्न नगरपालिका तयार रहेको जनाएको छ ।

नगरपालिकाले खानेपानी सरसफाइ, वातावरण तथा विपद् व्यवस्थापन, शहरी आवास तथा भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य तथा खेलकूद, सामाजिक सुरक्षा तथा विकास, पर्यटकीय पूर्वाधारको विकास, कृषि, वन, पशु, संस्थागत सुशासन तथा सेवा प्रवाह, सम्पदा संरक्षणलगायतका क्षेत्रलाई आफ्नो प्राथमिकताको क्षेत्र बनाएको छ ।

जमीन बाँझो राख्नेलाई कर

एक वडा एक उद्यान, जमीन बाँझो राख्नेलाई कर लगाउने, नगरक्षेत्रमा सुपथमूल्य पसल सञ्चालन, एक घर दुई बिरुवा नीतिमा कडाइ, सामुदायिक अस्पताल निर्माण, नगरपालिकाभित्रका परम्परागत एवं जीवन्त बाजा, पर्व संरक्षण तथा प्रवद्र्धन गर्ने नीति पनि नगरपालिकाले लिएको छ ।

काठमाडौँको सबैभन्दा ठूलो नगरपालिकाका रुपमा रहेको सो नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क बनाएको छ । ती सेवामा नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धबिच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातोकार्ड प्राप्त भूकम्पपीडितका नक्शापास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका रहेका छन्् ।

साविकका नयाँभञ्ज्याङ, बाडभञ्ज्याङ, पुरानो भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ, नैकाप गाविस समेटेर २०७१ मङ्सिर १६ गते सरकारले सो नगरपालिका घोषणा गरेको थियो । पछिल्लो जनगणनाअनुसार नगरपालिकाको जनसङ्ख्या ८६ हजार १९८ र घरधुरी सङ्ख्या २० हजार ५३२ रहेको छ ।

Logo