काठमाडौँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते दुई दिने नेपाल भ्रमणमा आएका थिए । मोदी आउनु अघि वैशाख २५ गते चाबहिलचोक देखि ह्यात होटल सम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो । ह्यात होटल गेटबाट टुसालतिरको भने सडक यथावत छोडियो । मोदी ह्यात होटलमा बस्ने भएपछि उक्त सडकको धुलो छोप्ने काम गरिएको थियो ।
यस्तै तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदा पनि उपत्यकाका सडक रातारात चिल्ला बनाइएका थिए । ट्यांकरको पानी खन्याएर सडक सफा गरिएको थियो ।
यसैगरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०७१ साउन १८ गते नेपालको राजकीय भ्रमणमा आउँदा काठमाडौं उपत्यका सिँगारेर दुलही जस्तै बनाइएको थियो । त्यसको तीन महिनापछि काठमाडौंमा सार्क शिखर सम्मेलन भयो । सम्मेलनमा सहभागी हुन सार्क सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आएका थिए । उक्त अवधिमा पनि काठमाडौं उपत्यकाका सडकमा अर्बौं रुपैयाँ खर्च गरियो ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि सम्मेलन आयोजनास्थल सोल्टी होटलसम्मको सडक मर्मत गर्ने कार्य भइरहेको छ । दुईचार दिनयता त्रिभुवन विमानस्थल, तीनकुने, बानेश्वर–माइतीघर लगायतका स्थानमा पानी दर्किरहे पनि कालोपत्रे गर्ने कार्य रोकिएको छैन । सडकका खाल्डाखुल्डी पुर्ने तथा रेलिङ र पर्खालमा रङ लगाउने काम तीव्र गतिमा भइरहेको छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । सम्मेलनमा सहभागी हुन भारत, भुटान, श्रीलंका, बंगलादेश, थाइल्यान्ड र म्यानमारका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आउँदैछन् । त्यसैले सरकार राजधानीका सडक चिल्लो पार्न व्यस्त छ ।
‘विदेशी सरकारप्रमुख वा राष्ट्रप्रमुख आउँदा मात्रै सडक लगायतका संरचना सफा र चिटिक्क पार्ने प्रवृत्ति देखिएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले भने, ‘अरू बेला वास्तै नगर्ने तर विदेशी पाहुना आउँदा रातारात काम गर्ने सरकारी प्रवृत्तिले जनतामा चरम आक्रोश बढेको छ ।’
काठमाडौंमा विदेशी अतिविशिष्ट पाहुना आउँदा होस् या अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदा सडक तथा चोक रातारात सफा गरेर चिटिक्क बनाइन्छ । सडक वरपरको वातावरण समेत आकर्षक र हराभरा बनाइन्छ । यसरी चिटिक्क बनाइएका संरचना भने विदेशी पाहुना फर्किएसँगै पुरानै अवस्थामा पुग्छन् । कालोपत्रे गरिएको सडक खाल्डाखुल्टी र धुलोमा परिणत हुन्छ ।
आसन्न बिमस्टेक सम्मेलनको पूर्वसन्ध्यामा चिटिक्क पारिएको काठमाडौंका सडक पनि सम्मेलन समापनसँगै बिग्रने निश्चित छ । उपत्यकाका सडकका खाल्डाखुल्डी बर्खे झरीको प्रवाह नगरी मर्मतसम्भार भइरहेका छन् । त्यसैले यी सडक धेरै दिन टिक्न सक्दैनन् ।
वर्षौंदेखि चाबहिल–जोरपाटी–साँखु सडक र कंलकी–नागढुंगा सडक जीर्ण छन् । ‘चाबहिल जोरपाटीको अस्तव्यस्त सडक सरकारले वर्षौंसम्म देखेको नदेख्यै गर्यो,’ बौद्धका पासाङ शेर्पाले भने, ‘विदेशी पाहुना आउन लागेपछि त रातारात मर्मत गर्न सकिने रैछ नि’, नेपाली नेतालाई जनता त भोट खसाल्न मात्रै चाहिने रैछ अरू बेला त वास्तै छैन ।’
नागरिकबाट































प्रतिक्रिया