काठमाडौँ
सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महिनाको तुलनामा पर्यटक आगमन ७३.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सो महिनामा ४२ हजार २४० जनाले नेपाल भ्रमण गरेका थिए ।
सन् २०१८ को सात महिनामा पाँच लाख ९३ हजार २९९ जनाले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढी हो । पर्यटक आवागमनको याम नहुँदा समेत बोर्डले प्रचारात्मक र प्रवद्र्धनात्मक अभियानलाई बढावा दिएका कारण पर्यटकको आवागमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।
भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा गत वर्षको सोही महिनाको तुलनामा ८०.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा ६६.१ प्रतिशतले वृद्धि भएको छ । चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा समेत गत वर्षको सोही महिनाको तुलनामा १२५.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दक्षिण कोरियाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा २१.९ प्रतिशत र जापानबाट आउनेको सङ्ख्यामा ३६ प्रतिशतले वृद्धि भएको छ ।
बोर्डले अध्यागमनमा दर्ता भएको तथ्याङ्कका आधारमा पछिल्लो तथ्याङ्क उपलब्ध गराएको हो । विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेका कारण पर्यटन आवागमनमा वृद्धि भएको जोशीको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । नेपाल भ्रमण वर्षको सचिवालयले आवश्यक तयारी समेत गरिसकेको छ ।





























प्रतिक्रिया