काठमाडौं । एमजी मोटर्सको सबब्राण्ड आईएम नेपाली बजारमा प्रवेश गरेको छ। नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले गत साउन १५ गते एमजी आईएम सिक्स नेपाली बजारमा उपलब्ध गराएको हो। यसलाई ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मार्फत प्रत्यक्ष प्रदर्शन गर्दै बिक्री खुला गरिएको थियो।
विद्युतीय कारको क्षेत्रमा अग्रणी मानिने पारामाउन्ट मोटर्सले आईएम सिक्स मार्फत नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त, विलासी र उच्च गुणस्तरीय विद्युतीय कारको अनुभव ल्याएको कम्पनीले जनाएको छ।
आईएम सिक्स अन्तर्राष्ट्रिय बजारमा पनि धेरै उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै आएको छ। यसमा विशेषता र शैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ, जस्तै सेन्टर कन्सोलमा रहेको ‘फ्लीप डाउन वाइड स्क्रिन टीभी’ ले कारको इन्टेरियरलाई आकर्षक बनाएको छ। चीन लगायत विश्व बजारमा आईएम सिक्सले टेस्ला मोडल वाईसँग प्रतिस्पर्धा गरिरहेको कम्पनीको दाबी छ। ‘इनटेलिजेन्स इन मोसन’ थिमअनुसार आईएम नाम दिइएको यस कारको नेपाली बजार मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कार सार्वजनिक भएसँगै बुकिङ पनि खुला गरिएको छ।
आईएम सिक्स एसएआईसीको ग्लोबल भिजन अन्तर्गत ‘इनटेलिजेन्स इन मोसन’ थिममा प्रस्तुत गरिएको छ। यसमा फ्लीप डाउन टीभी, आकर्षक कार चाबी, टेस्ला जस्ता विङ मिरर र डोर ह्यान्डलमा बटम सुविधा राखिएको छ। ८ सय भोल्ट आर्किटेक्चरमा निर्मित यस कारलाई १० देखि ८० प्रतिशत चार्ज गर्न केवल १७ मिनेट मात्र लाग्ने दाबी कम्पनीले गरेको छ, जसले विद्युतीय कार प्रयोगकर्तालाई छिटो र सहज चार्जिङ सुविधा दिन्छ।
सुविधाका दृष्टिले आईएम सिक्स निकै समृद्ध छ। कारमा हिटेड र भेन्टिलेटेड सीटसँगै मसाज सिट पनि उपलब्ध छ, जुन एमजीका एसयूभीमा पहिलो पटक समावेश गरिएको विशेषता हो। यसले लामो यात्रालाई पनि आरामदायी र शारीरिक रूपमा कम थकाउने बनाउँछ। ड्यासबोर्डमा २६ इन्चको ठूलो स्क्रिन छ, जसमा इन्फोटेन्टमेन्ट प्रणाली र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दुई भागमा विभाजित गरिएको छ। यसले चालक र यात्रु दुवैको अनुभवलाई आधुनिक र स्मार्ट बनाउँछ।
आईएम सिक्समा ‘एडी’ नामक स्मार्ट ड्राइभिङ असिस्ट पनि उपलब्ध छ, जसले सुरक्षित र सहज यात्रा सुनिश्चित गर्छ। अटोनोमस पार्किङ असिस्टेन्स सिस्टममा ३ सयभन्दा बढी सेन्सर प्रयोग गरिएको छ, जसले सवारीलाई पार्किङ, नेभिगेसन र कठिन मार्गमा पनि सजिलो बनाउँछ। यस्ता सुविधाहरूलाई ध्यानमा राख्दा आईएम सिक्सले बीएमडब्ल्यू, पोर्सा, बुगाटी जस्ता विलासी कार निर्माताहरूका स्तरसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्छ।
प्राविधिक पक्षमा पनि आईएम सिक्स अत्याधुनिक छ। यसमा १ सय ९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ४५० एनएम टर्क उत्पादन गर्छ। ७५ किलोवाट आवरको ब्याट्री प्याक रहेको यस कारले एक पटक फुल चार्ज गर्दा ५०० किलोमिटरको रेन्ज प्रदान गर्छ, जसले लामो दूरीका यात्रालाई सहज र भरपर्दो बनाउँछ। उच्च क्षमता र स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले दिगो र दीर्घकालीन सञ्चालन सुनिश्चित गर्दछ।
सुरक्षा, आराम, प्राविधिक दक्षता र विलासिता सबै एकै ठाउँमा समेटिएको आईएम सिक्स नेपाली बजारमा उपलब्ध हुँदा उपभोक्ताले आधुनिक विद्युतीय कारको अनुभव पाउनेछन्। पारामाउन्ट मोटर्सले ल्याएको आईएम सिक्सले नेपाली सडकमा विद्युतीय यातायातको नयाँ मानक स्थापना गर्दै, स्मार्ट, सुरक्षित र दीगो यात्रा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया