जाजरकोट
जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर पचास गुना सम्म कर बढाएपछि भेरी नगरका जनता आक्रोशित छन् । भेरी नगरपालिका–२ रिसाङ्गकी डिला पुनले घरजग्गाको मालपोत प्रतिवर्ष १६ रुपैयाँ बुझाउँथिन् । तर नगरपालिकाले गत वर्ष देखि लगाएको एकीकृत सम्पत्ति करबापत उनले एकैपटक १९ हजार बुझाउनु पर्यो ।
एकाएक भएको करवृद्धिबाट उनी दिक्क छिन् । ‘आम्दानी खासै नहुने १७ रोपनी बारी र चारकोठे घर मात्रै छ,’ पुनले भनिन्, ‘स्थानीय सरकार बनेपछि सेवासुविधामा परिवर्तन छैन, अस्पतालमा सिटामोल नि पाइँदैन । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । तर हामी जस्ता गरिबको ढाड सेक्ने गरी कर उठाइएको छ । हामीलाई बिल्कुल चित्त बुझेको छैन ।’
भेरी–३ थाप्लेका कृष्णविक्रम शाहले घरजग्गाको कर हरेक वर्ष नौ सय ११ रुपैयाँ बुझाउँथे । अहिले एकीकृत सम्पत्ति कर बापत उनले ४० हजार रुपैयाँ तिरे । उनको ६५ रोपनी खेत तथा पाखोबारी र सदरमुकाममा दुई घर छन् । ‘त्यो जमिन र घरबाट खासै आम्दानी छैन’, शाहले भने, ‘तर स्थानीय सरकारको चर्को कर तिर्न म बाध्य छु । एकैपटक पचासौं गुणा बढेको छ ।’ सेवासुविधा नपाइने, आम्दानी नहुने तर करवृद्धि गर्ने कार्यले जनताले सुशासन अनुभुति नगरेको उनले सुनाए । उनले भने, ‘करवृद्धि जनता माथि अन्याय हो । आम्दानी अनुसार पो कर हुनुपर्यो । यसरी त हाम्रो छाक नै काटिने भयो ।’ नगरले कर बढाएसँगै बजारमा मूल्यवृद्धि भएको उनले बताए ।
भेरी नगरले रुखको हाँगा काट्ने देखि कुखुरा निकासी सम्ममा दस्तुर लिन्छ । रुख काट्न खोजे सिफारिसमै पाँच सय रुपैयाँ र हाँगा काट्ने भए दुई सय दस्तुर तिर्नुपर्छ ।
नगरले सानो कुखुरा निकासी पैठारीमा प्रतिकुखुरा ५ रुपैयाँ लिन्छ । खसीबाख्राको ५०, गोरुको एक सय, र राँगा/भैसीको दुई सय रुपैया प्रतिगोटा निकासी दस्तुर तोकेको छ । नगरपालिकाका लेखापाल डम्बर विष्टले भने, ‘नगरसभाबाट एकीकृत सम्पति कर लागू गरिएको हो र सेवा शुल्क पनि बढाइएको हो ।’ नगरप्रमुख चन्द्रप्रकाश घर्तीले नगरकै विकासका लागि करका दायरा बढाइएको दाबी गरे ।
अन्नपूर्णबाट





























प्रतिक्रिया