काठमाडौं
बझाङको जयपृथ्वी नगरपालिका–४ निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ । खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन् । खड्का परिवार गरिबको सूचीमा छ तर खान लगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छैनन् ।
बझाङकै बुंगल नगरपालिका–४ का रमेश ताम्राकार र उनकी पत्नी सन्तोषी दुवै जागिरे छन् । रमेश निमावि शिक्षक र सन्तोषी सामाजिक परिचालिका हुन् । यो परिवार पनि गरिबको परिचयपत्र पाउने सूचीमा छ । सोही नगरपालिका–९ का गणेश दमाईं, वसन्त दमार्इं लगायत १० परिवारको नाममा जग्गा छैन । आफ्नो नाममा घरजग्गा लगायत कुनै सम्पत्ति नभएका उनीहरू भने गरिबको सूचीमा छैनन् । ‘हामी गरिब मान्छेलाई कसले हेर्छ र ? पहुँच हुने र हुनेखानेलाई नै गरिबको सूचीमा राखिएको छ’, गणेश दमाईंले भने, ‘हामी केही पनि नभएका १० परिवारलाई गरिबको परिचयपत्र दिने सूचीमा राखिएको छैन ।’
जयपृथ्वी नगरपालिका– ५ का तेजबहादुर सिंह गाउँपालिका कार्यालयका कर्मचारी हुन् । उनलाई पनि गरिबको सूचीमा राखिएको छ तर आर्थिक अवस्था कमजोर भएका सोही वडाका डबले दमार्इं गरिबमा परेका छैनन् ।
पहिलो चरणमा बाजुरा, बझाङ, कैलाली सहित २५ जिल्लामा गरिब परिवार पहिचान गरी परिचयपत्र उपलब्ध गराउने सरकारी नीति छ । २०७० सालमा संकलित तथ्यांक अनुसार गरिबको सूची बनाइएको छ । गरिबलाई पनि तीन वर्गमा छुट्याएर तीन महिना पनि खान नपुग्नेलाई अतिगरिबको सूचीमा राख्ने नीति छ । तर संकलित सूचीमा रहेका सबै वास्तविक गरिब भने छैनन् । हचुवाका भरमा तथ्यांक संकलन गरिएकाले गरिब घरपरिवार गरिबको सूचीमा पर्न नसकेका हुन् । उल्लिखित दृष्टान्तले पनि हचुवाका भरमा गरिबको सूची र परिचयपत्र तयार पारिएको प्रस्ट हुन्छ। यसरी तयार पारिएका परिचयपत्र कतै वितरण गरिएको छ भने कतै वितरणको तयारी भइराखेको छ ।
कैलालीमा पनि गरिबको सूची हचुवाका आधारमा तयार पारिएको छ । धनगढी उपमहानगरपालिका–६ बिजुलियाका बुद्धिराम चौधरी त्यतिबेला छक्क परे जब उनको हातमा वडा कार्यालयका कर्मचारीले अतिगरिब परिवार भनेर परिचयपत्र थमाए । बुद्धिरामको धनगढीमा पक्की घर, डेढ बिघा भन्दा बढी जग्गा, इँटा उद्योग र ट्र्याक्टर छ । करोडपति उनलाई गरिबको परिचयपत्र दिइएको छ ।
यस्तै बाजुराका जनकराज गिरीको परिवार पनि अतिगरिबको सूचीमा छ । गिरी पूर्वभूमिसुधार सहायकमन्त्री हुन् । बडिमालिका नगरपालिकाका उपप्रमुख कविता बिष्ट देखि बुढीनन्दा नगरपालिका–१ का अध्यक्ष नृपराज गिरी समेत गरिबको सूचीमा छन् । पहाडमा दुवै जनाको भव्य घर र तराईमा जमिन छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्मा देखि स्वास्थ्य कार्यालयका लेखापाल खम्बीर बुढा पनि गरिबको सूचीमा परेका छन्। बुढाको मार्तडी र नेपालगन्जमा घर छ ।
नागरिकबाट































प्रतिक्रिया