धनगढी
कालोपत्रे सडक भन्ने बित्तिकै जो कोहीलाई पनि सफा, सीधा र अवरोध बिनाको सडक भन्ने लाग्छ । तर धनगढीको देवहरिया देखि बेहडाबाबा जोड्ने कालोपत्रे सडकमा भने बीचबीचमा रुखैरुख छन् । जंगल क्षेत्रमा हतारोमा कालोपत्रे गरिँदा देवहरिया–बेहडाबाबा सडक खण्डमा ३१ वटा रुख धराप बन्न पुगेका छन् ।
तत्कालीन संविधानसभाका सदस्य पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २०७१/ ७२ मा धनगढीको देवहरियाबाट धार्मिक पर्यटकीय स्थल बेहडाबाबा जोड्ने सडकको ठेक्का सम्झौता भएको थियो । साँढे तीन किलोमिटर सडक कालोपत्रे गर्न तीन करोड ५० लाख रुपैयाँमा राजेन्द्र रुद्रावती जेभीले ठेक्का लिएको थियो ।
सडक ठेक्का प्रक्रियामा गइसकेपछि साइड हेरेर रुख हटाउन भनिए पनि वन कार्यालयले वन ऐन अनुसार रुख हटाउन नदिएको सडक डिभिजन कार्यालय धनगढीका साइड इन्जिनियर महेन्द्र पन्तले बताए । ‘सांसदले नै सडक बनाउनुस्, बिस्तारै रुख हटाउन प्रक्रिया थाल्छु भन्नु भयो,’ उनले भने, ‘सांसदले रुख हटाउने आश्वासन दिएपछि हामीले पनि सडक कालोपत्रे गर्न प्रक्रिया थालेका हौं ।’ सडक कालोपत्रे भइसक्दा पनि रुख हटाउन कतैबाट अनुमति नपाएको उनले बताए । कालोपत्रे सडकका बीचमा रहेका ३१ वटा रुख यात्रुका लागि धराप बनेको उनले स्विकारे ।
स्थानीय बासिन्दा कालोपत्रे सडकमा रहेका रुखले ज्यानै लिएको घटना सुनाउँछन् । ‘सडकमै रहेको रुखले मेरो भाइको ज्यान लियो,’ धनगढी–१७ पथरीका भिखराम चौधरी भन्छन्, ‘अहिले सम्म तीन जनाको ज्यान गइसक्यो, कयौं अंगभंग भएका छन् ।’ कालोपत्रे सडकभरि रुखैरुख हुँदा मोटरसाइकलको गति थोरै मात्र बढाउँदा पनि ठोक्किने समस्या भएको उनी बताउँछन् । ‘मोटरसाइकलको गति थोरै मात्र बढाउँदा पनि आँखै अगाडि रुख आइहाल्छ,’ उनले भने, ‘यो सडकमा यात्रा गर्दा कतिखेर रुखमा ठोक्किन्छु भन्ने लागिरहन्छ ।’ गाउँबाट धनगढी बजार आउन अर्को सडक नरहेको बताउँदै उनले भने, ‘यो सडक हाम्रा लागि धराप बनेको छ तर के गर्नु, विकल्प छैन ।’
नागरिकबाट





























प्रतिक्रिया