काठमाडौं
सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत सुत्केरी महिलाले चार महिना आठ दिनको तलब पाउने भएका छन् । ९८ दिन सुत्केरी विदा सहित थप एक महिनाको तलब पाउने व्यवस्था सहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । सरकारी, गैरसकारी वा निजी संघसंस्थामा कार्यरत महिलालाई विशेषज्ञ चिकित्सकको राय बमोजिम प्रजनन स्वास्थ्य रुग्णताका कारणले जटिल शल्यक्रिया गर्नु पर्ने भएमा अघि वा पछि एक महिनाको तलब सहितको बिदा दिने व्यवस्था विधेयकले समेटेको छ ।
पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका लागि १५ दिन बिदा दिने प्रस्ताव पनि गरिएको छ । विधेयक अनुसार सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिन सम्म तलब सहित प्रसूति बिदा पाउनेछन् । दफा १३ मा भनिएको छ, ‘कुनै गर्भवती महिलालाई बिदा अपुग हुने भएमा स्वास्थ्यकर्मीको परामर्श बमोजिम थप एक महिना तलब सहित प्रसूति बिदा पाउने अधिकार हुनेछ ।’
पत्नी सुत्केरी हुने भएमा पुरुष कर्मचारीलाई समेत प्रसूति स्याहारका लागि १५ दिन पारिश्रमिक सहित बिदा दिनु पर्ने व्यवस्थालाई विधेयकमा निरन्तरता दिइएको हो । रोजगारदाता संघसंस्थाले पनि महिला कर्मचारीलाई शिशु जन्मेको दुई वर्ष सम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने विधेयकमा उल्लेख छ । मृतक शिशुलाई जन्म दिएमा वा जन्मिएपछि शिशुको मृत्यु भएमा पनि बिदा पाउने अधिकार कटौती नहुने व्यवस्था विधेयकमा छ ।
यसैगरी गर्भवती सेवा लिनबाट वञ्चित गरेमा, इन्कार गरेमा र जन्मको प्रमाणपत्र नदिएमा भने ६ महिना सम्म कैद वा ५० हजार सम्म जरिबानाको व्यवस्था पनि विधेयकमा छ । गोपनीयता (गर्भवती महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित सूचना, कागजात तथा सेवाग्राहीलाई प्रदान गरिएको सेवा) भंग गरे ५० हजार सम्म जरिबाना हुनेछ ।
यसैगरी विधेयकले गर्भवती महिलाको मन्जुरीले १२ साता सम्मको गर्भपतन गर्न पाउने यस अघिकै व्यवस्थालाई निरन्तरता दिएको छ । तर गर्भपतन नगराउँदा गर्भवती महिलाको ज्यान खतरामा पर्न सक्ने अवस्थामा भने जुनसुकै अवधिको गर्भपतन गर्न सकिनेछ । ‘गर्भवती महिलाको मन्जुरीले १२ साता सम्म गर्भपतन गर्न पाउने अधिकार हुनेछ,’ विधेयकको दफा १५ को ‘क’ र ‘ख’ मा उल्लेख छ, ‘गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलांग बच्चा जन्मन्छ भनी इजाजतप्राप्त चिकित्सकको राय सहित त्यस्ती महिलाको मन्जुरी बमोजिम जुनसुकै अवधिको गर्भपतन गर्न सकिनेछ ।’
राजधानीबाट





























प्रतिक्रिया