काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफू विरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो ।
‘टोलीमा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे , अर्कोले मलाई छेउमै बोलाएर भन्यो– बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ,’ सुवेदीको पुस्तकमा उल्लेख छ, ‘लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।’ पुस्तकको यो प्रसंगले ठूला मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलाई प्रभावमा पार्न दिइने प्रलोभन र दबाब उजागर गरेको छ । प्रधानन्यायाधीश निवासमा बस्दा सबभन्दा ठूलो सकस चाहिँ लोकमानको मुद्दा आएपछि भएको सुवेदीले लेखेका छन् ।
अख्तियार प्रमुख आयुक्त हुन ‘लोकमानसिंह कार्कीको योग्यता पुग्दैन, उनी अयोग्य हुन्’ भनेर मुद्दा परेको थियो । जनआन्दोलन दबाउने काममा पनि सक्रिय भएकाले उनलाई अयोग्य भनिएको थियो । तर न्यायाधीश गोपाल पराजुली लगायतको इजलासले उनलाई चोख्याइदिएपछि यसमा पुनरावेदन परेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश सुशीलाले यो मुद्दालाई निस्सा दिएर पुनरावलोकनमा पठाएकी थिइन् । लोकमानको अयोग्यता माथि फेरि बहस हुन लागेको र उनलाई महाभियोग लगाउनुपर्ने भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. गोविन्द केसीको नेतृत्वमा आन्दोलन सुरु भइसकेको थियो । त्यो बेला देखि नै लोकमानले प्रधानन्यायाधीशलाई आफ्नो प्रभावमा पार्न अनेक ‘तिकडम’ गर्न थालेको पुस्तकमा उल्लेख छ ।
सुशीलाको ठाडो स्वभावका कारण लोकमानलाई धेरै डर रहेकाले उनले दिदीको नाता लगाउन प्रयास गरेको घटनाक्रमलाई समेत सुवेदीले पुस्तकमा उल्लेख गरेका छन् । ‘सुशीलालाई यो मुद्दाबाट कसरी हटाउने भनेर सोच्दा नाता–सम्बन्ध कायम गराउने उपाय खोजेछन्,’ सुवेदी लेख्छन्, ‘आफ्नो नातामा पर्नेको मुद्दा ती न्यायाधीशले हेर्न पाउँदैनन् । लोकमान र सुशीला दुवै विराटनगरका कार्की । लोकमानले यही फेरो समाएर सुशीलालाई ‘दिदी’ नाता लगाउन खोजे ।’
सुशीलालाई दिदी बनाउन आफूलाई लोकमानले भिनाजुको नाता लगाएर ओसो तपोवनमा ढोग्न खोजेको प्रसंग समेत सुवेदीले पुस्तकमा उल्लेख गरेका छन् । उनको पुस्तकमा लेखिएको छ, ‘एकपटक म कांग्रेसका एक नेतासँग आनन्द अरुणको ओसो तपोवन गएको थिएँ । त्यहाँ लोकमान पनि रहेछन् । उनले मेरा अगाडि आएर टाउको निहुर्याए । मलाई त एकछिन के गरौं, कसो गरौं जस्तो भयो । न उनी मेरो सालो, न हाम्रोमा त्यसरी टाउको निहुर्याउने चलन । तैपनि कसैले टाउको झुकाइसकेपछि आशीर्वाद त दिनुपर्यो । मैले उनको टाउकोमा हात राखिदिएँ ।’ सुवेदी अघि लेख्छन्, ‘पछि थाहा भयो, त्यसबेला लोकमानसँग सहमति गराउन भनेर मलाई तपोवन लगिएको रहेछ ।’
नागरिकबाट





























प्रतिक्रिया