काठमाडौं ।
नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए ।
सङ्घीय संरचना अनुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको गौतमले जानकारी दिए। सोही प्रतिवेदनको एक अङ्गका रुपमा दरबन्दी रहेको थियो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै प्रहरी समायोजन र बढुवाको आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिए। गत वर्ष नै प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भई कानूनको अङ्ग बनिसकेको छ । यद्यपि प्रहरी समायोजन प्रक्रिया शुरु हुन सकेको थिएन । प्रदेशमा प्रहरी समायोजन गर्दा प्रहरी उपरीक्षक र त्यसमाथिको प्रहरी कर्मचारी सङ्घ अन्तर्गत रहने कानूनी व्यवस्था छ ।
मेट्रोको नेतृत्व एआइजीले गर्ने
दरबन्दी थप भएसँगै महानगरीय प्रहरी कार्यालय (मेट्रो प्रहरी) को नेतृत्व एआइजीले गर्नेछन् । हाल यहाँ डिआइजी विश्वराज पोखरेलको नेतृत्व छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्व रहेको स्थान साइबर ब्युरो, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान निर्देशनालय, कार्य निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालयमा र प्रदेश समन्वय निर्देशनालयमा डिआइजीले नेतृत्व गर्ने प्रवक्ता कडायतले जानकारी दिए।
हाल प्रहरीमा एक प्राविधिकसहित चार एआइजी र प्राविधिकबाहेक १४ डिआइजी छन् । थपिएको दरबन्दीसहित एआइजी पाँच र प्रशासनतर्फ डिआइजीको दरबन्दी १९ पुगेको छ । प्राविधिकतर्फ आठ डिआइजीको दरबन्दी छ । तीन डिआइजीको दरबन्दी अहिले पनि खाली छ । थपिएको एक एआइजी र खालीसहित आठ डिआइजीको बढुवा प्रक्रिया अब शुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।रासस































प्रतिक्रिया