काठमाडौँ
नारायणगढ–मुग्लिन खण्डमा सडक एवं पुल नै भासिए पनि त्यस क्षेत्रमा तत्काल डाइभर्सन भने नबन्ने भएको छ । वर्षातको सिजन भएकोले यो वेला पहाड काट्दा पहिरोको जोखिम झन बढी हुने भन्दै नारायणगढ–मुग्लिन सडक आयोजनाले डाइभर्सन बनाउने जोखिम नलिने भएको हो ।
“हिउँद नलागी यो वर्षातमा डाइभर्सन गर्न सकिँदैन”, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले भने, “पुल भासिएको वा सडक भासिएको ठाउँमा अहिले ‘वान वे’ (एकोहोरो ) तरिकाले सवारी साधन सञ्चालन गरिएको छ । यो वर्षाद्को सिजनभरि नै जारी रहने छ ।”
“अहिले पनि सडक भन्दा माथिको भागवाट छहरा जसरी पानी झरिरहेको छ । यस्तो वेला पहाडको चट्टान काट्न लाग्यो भने पहिरोको जोखिम बढी हुन्छ”, सडक डाइभर्सनमा देखिने चुनौतीबारे औँल्याउँदै प्रमुख विसुरालले भने । पुनःनिर्माणकै क्रममा रहेको नारायणगढ – मुग्लिन सडककोे काम नसकिँदै १७ किलो र भतेरी ओरालोमा सडक नै भासिएको छ भने मुग्लिन नजिकै पर्ने खहरे खोला पुल पनि सडक छेउबाट भासिएको छ ।
सडक भासिएसँगै भूगर्वविद अच्यूत कोइरालाको नेतृत्वको विज्ञहरूको टोलीले सडकको स्थलगत निरीक्षण गर्दै पुरिएको माटो माथि सडक विस्तार र तलवाट त्रिशूली नदीको कटान भएकै कारण सडक भासिएको जनाउँदै नयाँ ठाउँमा डाइभर्सन वनाएर सडक सञ्चालन गर्नुपर्ने सुझाव दिएको थियो । तर आयोजनाले भने वर्षाद्को सिजनमा पहाड काटेर डाइभर्सन वनाउन नसकिने जनाएसँगै यो सडकमा यात्रा गर्ने यात्रुले थप हैरानी ब्यहोर्नु पर्ने भएको छ ।
एकदिन अघि मात्रै १७ किलोमा सडक भाँसिदा पाँच घण्टा सडक अवरुद्ध भएको थियो । पछिल्लो समय यो क्रम जारी रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा रहेको तथ्याङ्क अनुसार गत जेठ २८ गते यता विभिन्न मितिमा १७ स्थानमा पहिरो खस्दा ७६ घण्टा १० मिनेट सडक अवरुद्ध भएको छ । खुलेकै वेला पनि पहिरो खसेको क्षेत्रमा वान वे हुँदा यात्रुले हैरानी ब्यहोर्नु पर्ने अवस्था छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया