काठमाडौं ।
सङ्घीय संसद् सचिवालयले संसद्को हिउँदे अधिवेशनको तयारी शुरु गरेको छ । कोभिड–१९ सङ्क्रमण बढिरहेकै बेला संवैधानिक बाध्यताका कारण सचिवालयले अधिवेशनको तयारी थालेको हो ।
एक अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था अनुसार आगामी पुस १७ भित्रै अधिवेशन शुरु गर्न तयारीमा आफूहरु जुटेको महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
सङ्घीय संसद्को वर्षे अर्थात् बजेट अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो । उनले भने, “संवैधानिक समयसीमाको हेक्का गरी आन्तरिक तयारीमा जुटेका छौँ, यस पटक कोभिड–१९ को जोखिमका बीच हामीलाई अधिवेशन गर्नुपर्ने बाध्यता आइपरेको छ ।”
राष्ट्रिय महत्वको नागरिकता तथा सङ्घीय निजामती लगायत स्थानीय तह र प्रदेशको काम कारवाहीसँग प्रत्यक्ष सरोकार राख्ने विधेयक बनाउनु पर्ने यो अधिवेशनको मुख्य जिम्मेवारी छ । ती कानून समयमा बनाउन नसक्दा सङ्घीयता कार्यान्वयन गर्नसमेत समस्या पैदा भएको गुनासो रहि आएको छ ।
सङ्घीय विधेयकले स्थानीय र प्रदेशलाई दिशानिर्देश गर्नुपर्ने भएकाले पनि ‘विधेयक अधिवेशन’ को महत्व अझै बढेको छ । “अहिले कोरोनाको चुनौती बढेको छ, सिटको व्यवस्थापन, बैठक कक्षको निसङ्क्रमण र प्रवेशद्वारमै सेन्सरबाट ज्वरो नाप्ने उपकरण जडान गर्ने सोच अघि बढाएका छौँ” संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले भने ।
दुई अधिवेशनबीचको समयसीमा छ महिना ननघाउने भन्ने संवैधानिक व्यवस्था भएकाले कोरोनालाई आधार बनाएर ढिलाइ गर्न नमिल्ने हुँदा अबको डेढ महिनाभित्र बैठक बस्नेछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने व्यवस्था छ ।
नियमित बैठक बस्नु पर्ने र अधिवेशन लामो समयसम्म चल्ने भएकाले कोरोना नफैलियोस् भनी स्वास्थ्य सुरक्षाका विभिन्न सावधानका विकल्पसहितको मापदण्ड बनाएर अधिवेशन सञ्चालन गरिने डा पाण्डेले बताए।
अघिल्लो अधिवेशन पनि कोभिड–१९ को जोखिम र बन्दाबन्दीबीच सफलताका साथ सम्पन्न भएको थियो । यस पटक भने स्वास्थ्य सम्बन्धी प्रभावकारी मापदण्ड बनाएर चुनौती कसरी कम गर्न सकिन्छ भन्ने सचिवालयलाई चासो छ ।
कोभिड–१९ को सङ्क्रमण बढिरहेको परिवर्तित सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा बैठकमा दैनिक उपस्थिति सङ्ख्या घटाउन सकिन्छ कि भन्ने कोणबाट सचिवालयमा छलफल चले पनि राजनीतिक दलको निर्णय नै यसमा अन्तिम हुनेछ । राजनीतिक दलको परामर्शमा लक्षण देखिएका वा आशङ्काका दायरामा रहेका सांसदलाई बैठकमा उपस्थित हुँदा थप सतर्क हुन अपिल गर्ने तयारीमा सचिवालय छ ।
यस अघि तयार गरिएको सिटलाई अझै फराकिलो दूरीमा राख्ने तथा दर्शक र विशिष्ट व्यक्तिका लागि छुट्टयाइएको स्थान पनि सांसद बस्ने गरी व्यवस्थापन मिलाउन लागिएको सचिवालयले जनाएको छ ।





























प्रतिक्रिया