काठमाडौं
आइतबारबाट मनसुनी वर्षा हुँदा मुलुकका अधिकांश स्थानमा बाढीपहिरोको प्रकोप बढेको छ । प्रकोपका कारण दुई दिनमा २१ जनाको मुत्यु भएको र एक जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोका कारण सोमबार ११ जनाको मृत्यु भएको र चार जना बेपत्ता भएका थिए । सोमबार राति देखि मंगलबार साँझ सम्ममा थप १० जनाको मृत्यु र एक जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार मंगलबार दोलखाको गौरिशंकर गाउँपालिका र सिन्धुलीको कमलामाई नगरपालिकामा एक–एक जनाको मृत्यु भएको छ ।
यसैगरी सोमबार रातिको भारी वर्षाका कारण कैलालीको गोदावरी नगरपालिकामा एक जनाको मृत्यु भएको छ भने बाँकेको बैजनाथ गाउँपालिकामा बाढीले बगाएर एक र अर्को एक जनाको डुबेर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बाँकेकै कोहलपुर नगरपालिकामा डुबेर एक जनाको मृत्यु भएको छ भने सिन्धुलीको दुधौली नगरपालिकामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । यस्तै चितवनको भरतपुर महानगरपालिकामा एक जनाको डुबेर मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिकामा भारी वर्षाका कारण पहिरोले घर भत्कँदा एकै परिवारका तीन जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी पर्साको पर्सागढी नगरपालिकामा बाढीका कारण दुई जनाको ज्यान गएको छ भने महोत्तरीको गौशाला नगरपालिकामा एक जनाको ज्यान गएको छ । सर्लाहीको हरिवन नगरपालिकामा बाढीका कारण एक जनाको मृत्यु भयो भने सोमबार नै काठमाडौंको तारकेश्वर नगरपालिकामा बाढीका कारण एक जनाको मृत्यु भयो । उता बाँकेको डुडुवा गाउँपालिकामा डुबेर एक जनाको मत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा पनि बाढीका कारण एक जनाको मृत्यु भयो भने तनहुँकै भिमाद नगरपालिकामा बाढीका कारण एक जना बेपत्ता भएका छन् । सोमबार नै सिरहाको विष्णुपुर गाउँपालिकामा डुबेर एक जनाको मृत्यु भयो । सर्लाहीको हरिवन नगरपालिकामा बाढीका कारण एक जनाको मृत्यु भयो भने दाङको बंगलाचुली गाउँपालिकामा बाढीले एक जनाको ज्यान गयो ।
राजधानीबाट





























प्रतिक्रिया