दार्चुला
लगातार तीन दिन देखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।
०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकामा बेलुका केही घटेर तीन मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख राजकुमार घिमिरेले बताए । तर फेरि पानी पर्न शुरु भएका कारण पानीको बहाव अझै बढेर जाने खतरा रहेको छ ।
महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकु लगायतका बस्तीमा त्रास फैलिएको छ । महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेका छन् । महाकालीको डरले रात भर जाग्राम बस्ने गरेको मालिकार्जुन गाउँपालिका–७ का निर्मला चन्दले बताइन् ।
नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकी लगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ । पानीको बहाव बढेसँगै तत्काल जानकारी गराउन तथा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिई सशस्त्र प्रहरी परिचालन गरिएको गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया