महोत्तरी
जिल्लामा सर्पदंशका कारण एकै दिनमा चार जनाको मृत्यु भएको छ । सर्पले डसेर गौशाला नगरपालिका–१२ पररडियाका ११ वर्षीय मनीष राउत, वडा १२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंह, बर्दिबास नगरपालिका–६ का ७३ वर्षीया तिलकमाया राउत र सम्सी गाउँपालिका–६ की २३ वर्षीया अंगुरी खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आइतबार राति घरमै सुतेको समयमा उनीहरूलाई सर्पले डसेको र उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुशीलकुमार सिंह आइतबार साँझ खेतबाट काम गरेर फर्किएपछि अचानक बेहोस भएको र उनलाई तत्कालै उपचारका लागि बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो । सर्पले टोकेको पत्ता लागेपछि सर्पदंश उपचार केन्द्रमा पठाइए पनि उपचारका क्रममा उनको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार मनीष राउत र तिलकको शुभस्वस्तिक र अंगुरीको कन्मा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
गर्मीसँगै सर्पदंशको घटनामा वृद्धि भएको छ । महोत्तरीमा गोमन, करेत जस्ता विषालु सर्पको प्रकोप बढेको छ । महोत्तरीमा जिल्ला अस्पताल, गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बर्दिबासमा गरी तीन ठाउँमा सर्पदंश उपचारको व्यवस्था छ । यी स्थानमा दैनिक २ देखि १० जना सम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका अनुसार जेठमा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी उपचारका लागि आएकोमा अन्यत्र उपचारमा जान सिफारिस गरिएकी बर्दिबास–१ की चार वर्षीया एक बालिकाको भने मृत्यु भएको सो केन्द्रले जनाएको छ ।
उपचार केन्द्रको अभिलेख अनुसार चालू आर्थिक वर्षको गत वर्षको साउन देखि जेठ मसान्त सम्म सर्पदंशका २३२ बिरामीले उपचार लिएका छन् । त्यसै गरी आव २०७३/७४ मा २७३, आव २०७२/७३ मा २७० र आव २०७१/७२ मा १६५ जनाले उपचार लिएका थिए । उपचार केन्द्रमा एन्टी स्नेक भाइरल राखिए पनि ससाना नानी र स्वास्थ्यका कारण कमजोर रहेकाहरूको उपचारमा आवश्यक पर्ने भेन्टिलेटरको व्यवस्था नहुँदा त्यस्ता बिरामीलाई अन्यत्र सिफारिस गर्नु परेको केन्द्रले जनाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया