काठमाडौं
काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा निःशुल्क इण्टरनेट जडान गरिएको छ । जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् । करीब तीन महिना अघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालि बीच भएको सम्झौतानुसार केही दिन अघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको हो ।
सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी नागरिकको चाप बढी हुने भएकाले उनीहरुलाई सुविधा दिनका लागि कामपाले यस किसिमको व्यवस्था गरेको हो । हनुमान ढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यस अघि जडान गरिएका भन्दा धेरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नु पर्ने कामपा सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।
उनका अनुसार अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २ सय नागरिकले मात्र उक्त इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो । प्रयोकर्ताको संख्या वृद्धि भएपछि थप्नुपर्ने देखिएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा र पछि नागरिकको आवश्यकता हेरी अन्य स्थानमा पनि राखिने बताए । यसअघि कामपाले रत्नपार्कबाट उक्त सुविधा प्रदान गरिसकेको छ ।
रासस































प्रतिक्रिया