काठमाडौं
रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय (दरवार हाइस्कूल) भवनको पुनः निर्माण कार्य सुरु भएको छ । नेपाल र चीनको द्विपक्षीय समन्वयमा उक्त भवन पुनःनिर्माण थालिएको हो ।
पुनःनिर्माणका क्रममा अहिले भवन भत्काउने र काम लाग्ने तथा पुनःप्रयोग नहुने सामग्रीको व्यवस्थापन भइरहेको छ । भानु माविका प्रधानाध्यापक हेमचन्द्र महतोका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाबाट नक्सा स्वीकृत भइसकेको छ । पुरातत्व विभागले उत्खननका क्रममा जगमा वा मुन्तिर कुनै पुरातात्विक वस्तु फेला परेमा विभागलाई जानकारी दिएर मात्र पुनःनिर्माण कार्य गर्न भनेको छ । सोही अनुसार विद्यालय भवन भत्काउने कार्य थालिएको छ ।
निर्माण कार्य सुरु भएको १८ महिनामा निर्माण सम्पन्न हुनेछ । प्रधानाध्यापक महतोका अनुसार भवन साविककै शैलीमा पुनःनिर्माण हुन्छ । झण्डै ८० करोड रुपियाँको लागतमा दरवार हाइस्कूलको पुनः निर्माण योजना अगाडि बढेको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया