काठमाडौं
नागरिक दबाब अभियानले बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडक चाँडो मर्मत गर्न माग गरेका छन् । जोरपाटी चोकमा आज भएको विरोध सभामा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, स्थानीयवासी तथा उपभोक्ताले लामो समय देखि सडक जीर्ण भई नागरिकले दुःख पाएकाले समस्या समाधानका लागि आग्रह गरेका हुन् ।
नागरिक दबाब अभियानका संयोजक दीपकसिंह भण्डारीले सडक मर्मत गर्न अहिले सम्म कसैले अग्रसरता नदेखाएकाले नागरिक स्तरबाटै दबाब अभियान थालिएको बताउँदै नागरिक हक प्राप्त गर्न आफूहरु सडकमा ओर्लन बाध्य भएको प्रस्ट पारे ।
अभियानका सहसंयोजक कुमारराज सुवेदीले एक्काइसौँ शताब्दीमा महानगरवासी नारकीय जीवन बिताउन बाध्य हुनु परेको विचार व्यक्त गर्दै आम नागरिकको सहनशीलतालाई बुझेर चाँडो कार्य सम्पन्न गर्न माग गरे ।
विरोध सभालाई नेपाली काँग्रेस महासमिति सदस्य विमल ठुकरी, साहित्यकार गोविन्दप्रसाद घिमिरे, अधिवक्ता होमकान्त चौलागाईं, चिकित्सक सुवास प्याकुरेल, पत्रकार निर्मल अर्याल लगायतले सडक चाँडो मर्मत सम्भार गर्न माग गरेका थिए ।
यता चावहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल मूल सडकको दुरवस्था विरुद्ध राजनीतिक दलका नेताहरु सहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध मानिसहरु पनि सडकमा ओर्लिएका छन् ।
नागरिक दवाव अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै स्थानीयवासीले वर्षौं अघि देखि सडक जीर्ण भई लाखौँ प्रयोगकर्ताले दुःख पाउँदा समेत सरोकारवाला निकाय मूकदर्शक बनेको आरोप लगाए । सडक सुधार्न थालिएको नागरिक दवाव अभियानमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, समता मानव अधिकार तथा नागरिक समाज, नव दुर्गा महिला समूह लगायत संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए ।
रासस





























प्रतिक्रिया