काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय तहमा पनि पार्टी संसदीय दल बनाउने भएको छ । केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको नेकपाले नयाँ संविधान अनुसार प्रदेश र स्थानीय तहमा पनि सरकार गठन भएको भन्दै सबै तहमा संसदीय दल सञ्चालन गर्न लागेको हो ।
‘तीनवटै तहमा सरकार भएकाले सबैमा पार्टीको संसदीय दल गठन गर्ने गरी पार्टीको विधान बनेको छ,’ विधान निर्माणमा संलग्न नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसालले भने, ‘स्थानीय तहमा पनि संसदीय दल बनेपछि पार्टी नीति अनुसार अझ प्रभावकारी कार्यसम्पादन हुने विश्वास गरिएको छ ।’
स्थानीय तहमा संसदीय दल सञ्चालनका लागि नेकपाले पार्टी विधानको धारा ५५ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्थानीयतह संसदीय दल गठन गर्ने व्यवस्था गरेको छ । पार्टीका तर्फबाट निर्वाचित, मनोनीत, सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू रहने गरी स्थानीय तह संसदीय दल गठन हुनेछ । सम्बन्धित पार्टी कमिटीको सिफारिसमा जिल्ला कमिटीले स्थानीय तहको प्रमुख वा उपप्रमुख वा उपाध्यक्ष र सो पनि नभए वरिष्ठ सदस्यलाई दलको नेता तोक्ने विधानले प्रस्ताव गरेको छ । त्यस्तै दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक तोक्ने विधानको प्रस्ताव छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया