काठमाडौं
काठमाडौं उपत्यका भित्र उपभोग हुने गरेको अधिकांश दूधमा मिसावट रहेको पाइएको छ । सरकारी अनुगमनको क्रममा उपत्यका भित्र उपभोग हुँदै आएको दूध मध्ये ९५ प्रतिशतमा मिसावट भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा उपभोग हुँदै आएको दूधको कुल ४२ वटा नमुना परीक्षण गरेको र त्यसमा ४० वटा नमुनामा कैफियत रहेको पाइएको हो । यो कुल नमुनाको ९५ दशमलव २४ प्रतिशत हो ।
कुल ४२ नमुना मध्ये ४० वटा नमुनामा साबुनमा प्रयोग गरिने सोडा प्रयोग गर्ने गरेको पाइएको हो । दूध उद्योगीहरूले गर्मीयाममा दूध फाट्नबाट जोगाउनका लागि सोडा प्रयोग गर्ने गरेको भए पनि त्यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । ‘४० वटा नमुनामा सोडाको प्रयोग गरेको पाइयो’ उनले भने, ‘सोडाको प्रयोगबाट दूध पाचन प्रणालीमा समस्या हुन्छ ।’
विभागका अनुसार कुल ४२ नमुना मध्ये १७ वटा नमुनामा चिल्लो पदार्थको मात्रा न्यून रहेको पाइएको छ । मापदण्ड अनुसार दूधमा चिल्लो पदार्थको मात्रा ३ देखि ८ प्रतिशतसम्म हुनु पर्दछ । कम चिल्लो रुचाउनेका लागि कम्तीमा ३ प्रतिशत चिल्लो पदार्थ र बढी चिल्लो उपभोग गर्नेका लागि ८ प्रतिशत चिल्लोको मात्रा हुनु स्वास्थ्यका लागि अनुकूल मानिन्छ । त्यस्तै नौ वटा नमुनामा मापदण्ड भन्दा बढी मात्रामा चिल्लो पदार्थ रहेको पाइएको छ । ती नौ वटामा चिल्लो पदार्थको मात्रा मापदण्ड भन्दा बढिरहेको र दूधमा हुनुपर्ने अन्य ठोस पदार्थको मात्रा मापदण्ड भन्दा न्यून रहेको पाइएको हो ।
मन्त्रालयको टोलीले लगनखेलको हिमालय डेरी प्रोडक्ट, काठमाडौंको जयश्री कृष्ण डेरी, भक्तपुरको भक्तपुर डेरी, अनमोल डेरी जगदम्बा डेरी लगायतका उद्योगहरूले कारोबार गर्ने दूधको नमुना संकलन गरेर ल्याएको थियो । त्यस्तै गोधुली दूध वेभरेज, नोभा कन्ट्री फुड, शिवम डेरी, तुलसा डेरी र सुलभ डेरीका गरी ४२ वटा नमुना संकलन गरेर ल्याएको थियो ।
राजधानीबाट





























प्रतिक्रिया