काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधन देखि पूरक बजेट सम्म ल्याउने बताएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा सोमबार साँझ राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले “समृद्ध नेपाल र सुखी नेपाली” सरकारको मूल लक्ष्य भएकाले त्यो लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, “अबको हाम्रो प्राथमिकता विकास र सुशासन हो, त्यसका लागि सरकारको सबै संयन्त्र प्रयोग हुनुपर्छ र आवश्यकता अनुसार सबै कानून तथा नियम परिवर्तन गर्न सकिन्छ ।” सरकारले अगाडि बढाएका विकासका मुद्दालाई राज्यका सबै निकायले सहयोग गर्नु पर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सबै मन्त्रालय, संवैधानिक निकाय सहित अन्य निकायले पनि विकास र समृद्धिको कार्यलाई रोक्न नहुने स्पष्ट पारे ।
राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, “संवैधानिक निकायले विकास र समृद्धिलाई अल्झाउने होइन, समाधान गर्ने हो, सहयोग गर्ने हो ।” उनले नागरिकले तिरेको करमा आश्रित जो कसैले पनि राज्यले अगाडि बढाएका कार्यलाई सहयोग गर्ने र अवरोध गर्न नहुने बताए ।
रासस





























प्रतिक्रिया