काठमाडौँ
सोलुखुम्बु, सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ । सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविर माथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ ।
वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छन् । यस वर्ष मात्रै चार सय बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । विश्व कीर्तिमानी कायम राख्नका लागि गरिने आरोहणका लागि बन्दोबस्तीका सामानसहित यहाँ आउने आरोही र उनका सहयोगीले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा समस्या हुने गरेको सगरमाथा आरोही पासाङ्ङिमा शेर्पाले बताउनुभयो ।
गत जेठ ७ (मे २१) मा सगरमाथाको सफल आरोहण गर्नुभएका शेर्पाले भन्नुभयो, “क्याम्प १ र २ मा केही मात्रामा फोहोर छ तर ३ र ४ मा भने अत्याधिक बढी देखिन्छ ।” दिनप्रतिदिन सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढ्दै गएको प्रति चिन्ता व्यक्त हुन थालेको छ । सम्बन्धित निकायले यसको व्यवस्थापनका लागि समयमा नै ध्यान दिनुपर्ने सगरमाथा आरोही लालबहादुर वाइवाको सुझाव छ । वाइवाले भन्नुभयो, “फोहोर व्यवस्थापनको केही पहल भए पनि यो पर्याप्त छैन, यसलाई सरकारले नै विशेष योजना बनाउन आवश्यक छ ।”
रासस





























प्रतिक्रिया