ठूलोसिरुवारी (सिन्धुपाल्चोक)
भूकम्पले खण्डहर बनाएको बस्ती ठड्याउँदै ‘सहरोन्मुख’ गाउँमा बदल्न ठूलोसिरुवारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकीकृत बस्ती निर्माणमा जुटेका छन् । पुनर्निर्माणका लागि सरकारले दिने अनुदानलाई एकीकृत रुपमा परिचालन गर्दै उनीहरु ४७ घरधुरीको नमूना बस्ती बसाल्न जुटिरहेका हुन् । ५० हजार रुपैयाँ दरले निकासा भएको अनुदानको पहिलो किस्ता एउटै कोषमा जम्मा गरेर गाउँले गएको असोज देखि बोजिनी एकीकृत नमूना बस्ती निर्माण थालेका थिए ।
पीडित सम्मिलित सीमाका सामुदायिक पुनर्निर्माण समिति गठन गरेर पुनर्निर्माणमा कस्सिएका गाउँलेले एकीकृत बस्ती विकास तीव्र बनाइरहेका छन् । ‘असार भित्रै एकीकृत बस्तीले अन्तिम रुप पाउँदै छ,’ पुनर्निर्माण समितिका उपाध्यक्ष तोकबहादुर श्रेष्ठले भने । उनका अनुसार निर्माण अन्तिम चरणमा पुगेका २८ घरको छाना छाइसकिएको छ भने बाँकी १९ घरको भूँई तह संरचना (डिपिसी) तयार भइसकेको छ ।
‘लोडबियरिङ’ संरचनाका एकै डिजाइनका घर, निलो जस्तापाता र एउटै रंगरोगनसहितको साजसज्जा बस्तीको प्रमुख विशेषता रहने उपाध्यक्ष तोकबहादुर बताउँछन् । ‘परिवार सदस्यको आधारमा घरका आकार भने केही साना–ठूला छन्,’ बस्ती पुनर्निर्माणको रेखदेख गर्दै गर्दा भेटिएका उनले भने।
समितिका अनुसार गाउँमा अनुदान पाउने लाभग्राहीको संख्या भने ३६ परिवार मात्र छ । ११ परिवारले लाभग्राहीमा समेटिन गुनासो भरेका छन् । गुनासो फछ्योट नहुँदा उनीहरु अझै अनुदानबाट बञ्चित छन् । तर लाभग्राहीमा नसमेटिए पनि उनीहरुको समेत घर पुनर्निर्माण भइरहेको छ । ५० हजार दरले प्राप्त पहिलो किस्ताको १८ लाख रुपैयाँ एउटै कोषमा जम्मा भएपछि गाउँलेले बस्ती निर्माण थालेका थिए ।
नागरिकबाट





























प्रतिक्रिया