काठमाडौँ
भूकम्प गएको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबारक्षेत्रको काष्ठमण्डप पुनःनिर्माण शुरु हुन सकेको छैन । गत वर्ष वैशाख २९ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका बीच सम्झौता भएको थियो । सम्झौता अनुसार अभियानलाई पुनःनिर्माणको जिम्मेवारी दिएको थियो ।
स्थानीयतह निर्वाचनपछि महानगरमा जनप्रतिनिधि निर्वाचित भएपछि काष्ठमण्डप पुनःनिर्माणको इच्छा व्यक्त गरेका थिए । काम गर्ने जोशका साथ आएको निर्वाचित प्रतिनिधिलाई पुनःनिर्माणको जिम्मेवारी दिएको एक वर्ष सम्म पनि सिन्को भाँचिएन । काठमाडौँ नामकरण भएको उपत्यकाको प्रमुख सम्पदा काष्ठमण्डप पुनःनिर्माण शुरु गर्न सरोकार भएका निकायले अझै ध्यान दिएका छैनन् । सरोकार भएका निकाय एक अर्कालाई दोषारोपण गरेर उम्कँदै आएका छन् । महानगरपालिकाका निर्वाचित जनप्रतिनिधि र प्रदेशसभाका सदस्यले मंगलवार काष्ठमण्डप पुनःनिर्मााणका लागि छलफल प्रारम्भ गरे ।
छलफलमा प्रदेशसभा सदस्य राजेश शाक्य, कामपा वडा नं २० अध्यक्ष राजेन्द्र मानन्धर, वडा नं २१ का अध्यक्ष उदय चुडामणि बज्राचार्य, वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन, वडा नं २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायत निर्वाचित सदस्य एवम् स्थानीयवासीको सहभागिता थियो । छलफलले प्रदेशसभा सदस्य शाक्यको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरेको वडा नं २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । समितिमा उपस्थित वडा अध्यक्ष एवम् स्थानीयवासीलाई सदस्यको जिम्मेवारी दिइएको उनले बताए ।
रासस





























प्रतिक्रिया