रौतहट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् । रौतहटको चन्द्रपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो भनेका हुन् । अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ, उनले अगाडि भने ।
अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित भइसकेको बताउँदै यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समय देखिको अभ्यासको परिणाम भएको पनि उनले बताए । दाहालले २०४६ साल देखि नै कम्युनिस्ट बीच एकताको कुरा सुरू भएको समेत बताए । कम्युनिस्टको एकता अघि बढिरहेका बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको उनले दाबी गरे ।
‘यो एकताको बिषय सजिलो गरी भएको होइन, उनले भने, कम्युनिष्टहरु बीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग २०५० जेठ ६ र ७ गते छलफल गर्ने कुरा हामीबीच भएको थियो, प्रचण्डले विगतको एकता प्रयास सम्झिँदै भने, तर उहाँको बीचमै (२०५० जेठ ३ गते) हत्या भयो ।’
शुक्रबार (आज) पार्टी एकताको कामलाई अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागि परेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आआफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरे । अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको उनले बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया