भैरहवा
लकिङ प्रणाली प्रयोग गरी भारतबाट इन्धन आयात सुरु भएको छ । भारतबाट आयात हुने इन्धन बीच बाटोमा हुने चुहावट रोक्न लकिङ प्रणाली लागू गरिएको हो । आयल निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीका प्रमुख अशोक शाहले अब पेट्रोलियम पदार्थ आयातका क्रममा हुने चुहावट पूर्ण रूपले नियन्त्रण हुने जानकारी दिए ।
विगतमा भारतबाट तारले बेरिएको सिल लगाएर मात्र आउने हुँदा चालक र सहचालकले बीच बाटोमै सिल तोडी इन्धन चोरी गरेर पुनः सिल जस्ताको त्यस्तै लगाएर नेपालको डिपोमा ल्याउने गरेका थिए । अब भने भारतमा ट्यांकरमा इन्धन लोड भएपछि भारतीय आयल कर्पोरेसनले ट्यांकरमा ताल्चा लगाइ दिन्छ । ट्यांकर भलवारी डिपोमा आएपछि आयल निगमले ताल्चा खोल्नेछ । एउटा ट्यांकरमा लगाइने ताल्चाको ३,३ वटा साँचो भारतीय आयल र नेपाल आयल निगम दुवैतर्फ हुन्छ । यसरी इन्धन आयात सुरु भएका कारण विगतमा भएको बदमासी पुनः नहुने प्रमुख शाहले बताए । उनले डिपोका लागि एक सय ९३ वटा ट्यांकरले इन्धन ढुवानी गर्ने गरेकामा पहिलो चरणमा ३३ वटामा लकिङ प्रणाली लागू गरिएको जानकारी दिए ।
पश्चिमाञ्चल क्षेत्रीय भलवारी डिपोमा भारतको बैतालपुर र मुगलसरायबाट एक सय ९३ वटा ट्यांकरबाट इन्धन ढुवानी हुन्छ । बैतालपुरबाट आठ सय केएल डिजेल र मुगलसरायबाट दुई सय केएल पेट्रोल भलवारी डिपोमा आउने गर्दछ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्र्टराइले लकिङ प्रणाली निगमको सुधारको महत्वपूर्ण कदम भएको बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया