काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका वेला भारतको रक्सौल देखि काठमाडौं सम्म रेलमार्ग बनाउने सम्झौता भयो । त्यस लगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग चीनको केरुङ देखि काठमाडौं सम्म रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भयो । राजनीतिक स्तरमा भएका यी दुई सहमति सँगसँगै ग्राउन्ड लेभलमा केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सँगसँगै सुरु हुँदैछ ।
चिनियाँ अध्ययन टोलीले जेठ पहिलो साता भित्र सम्भाव्यता अध्ययनको काम थाल्ने रेल विभागले जानकारी दिएको छ । रक्सौल देखि काठमाडौं सम्मको रेलमार्ग सम्भाव्यता अध्ययन गर्न रेल विभागले कोरियन कम्पनी सुसूङ इञ्जिनियरिङ एण्ड कन्सल्टिङलाई छनोट गरिकेको छ । । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायका अनुसार कम्पनीले बैशाख तेस्रो हप्ता देखि नै काम थाल्दैछ । ‘आर्थिक वर्ष २०७५/ ७६ को मध्य सम्ममा दुवैतर्फका रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न हुनेछ,’ उपाध्यायले भने ।
युरोपियन र चीन तथा जापानमा स्टाण्र्डर्ड गेजमा रेलमार्ग निर्माण र सञ्चालन भइरहेको छ भने भारतमा ब्रोड गेजमा रेलमार्ग सञ्चालन भइरहेको छ । नेपालले पूर्व–पश्चिम विद्युतीय रेल पनि स्टाण्डर्ड गेजमै निर्माण गर्दैछ । चीनमा स्टाण्डर्ड गेज प्रचलनमा रहेकाले केरुङ–काठमाडौं रेलमार्ग स्वभाविक रुपमा स्टाण्डर्ड गेजमा निर्माण हुनेछ । भारतले पनि आफ्नो सम्पूर्ण रेलमार्गलाई स्टाण्डर्ड गेजमा स्तरोन्नति गरिरहेकाले काठमाडौं–रक्सौल रेल पनि सोही मापदण्डमा बन्ने सम्भावना छ । नेपालमा बन्ने सबै रेलमार्ग स्टाण्डर्ड गेजमा नै निर्माण हुनु पर्ने रेल विभागले बताएको छ ।
भारतीय भूमि रक्सौल सम्म रेल सञ्चालनमा छ । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणबारे अहिले सम्म कुनै अध्ययन भएको छैन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा नेपाल र भारतबीच रक्सौल देखि काठमाडौं सम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने विषयमा सहमति भएको छ । निर्माण अघि बढाउन भारत सरकारले १ वर्ष भित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गर्नेछ । दुई देशका प्रधानमन्त्री बीच नयाँ विद्युतीय रेलमार्ग निर्माणका लागि भएको सहमति अनुसार रेलमार्ग भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिनेछ ।
यता केरुङ–काठमाडौं रेलमार्ग निर्माण भएमा यो नेपाल र चीन बीचको पहिलो अन्तर्राष्ट्रिय रेलमार्ग हुनेछ । ‘सम्भवतः सन् २०१८ भित्र केरुङ–काठमाडौं रेलमार्गको चीनले सम्भाव्यता अध्ययन गर्नेछ,’ रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायको भनार्इ छ । विस्तृत आयोजना प्रतिवेदन देखि लगानी मोडालिटी सम्मका विषय छलफल हुनेछन् । २४ वैशाख ०७४ मा सिगात्से–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको हो भने ०७३ जेठमा चिनियाँ यातायात मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले चीन–नेपाल रेलमार्ग निर्माणलाई महत्वपूर्ण आयोजनाका रूपमा स्वीकृत गरेको थियो ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया