काठमाडौं ।
आजदेखि हिन्दुहरुको दोस्रो महान चाड तिहार शुरु भएको छ । हिन्दु धर्म अनुसार कार्तिक महिना सबैभन्दा शुभ र फलदायक महिना मानिन्छ । यो महिना भगवान विष्णुको महिना हो । यस महिनामा भगवान विष्णु निद्रा अवस्थाबाट जाग्ने परम्परागत मान्यता छ ।
भगवान विष्णु निद्राबाट उठेपछि सबै मांगलिक कार्य शुरू गर्ने मान्यता रहँदै आएको छ । तिहारको सुरुवात नै धनतेरसबाट सुरु हुन्छ । काग तिहारको दिन धनतेरस पर्व मनाइन्छ । तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने गरिन्छ । सुरुको दिन काग तिहारकै दिन धनतेरस पर्व मनाउँदै तिहारको सुरुवात गरिन्छ । यस दिन विभिन्न पूजा सामाग्री, फलफूल, चाँदी, तामा, पित्तल तथा माटो लगायतका सामाग्री राखी धुमधामसँग माता लक्ष्मी र कुबेरको पूजा गरिन्छ ।
औंशीका दिन माता लक्ष्मीको पूजा गर्दै माता लक्ष्मीलाई आआफ्नो घरमा बास गर भन्दै आव्हान गरिन्छ । मानिसहरूले आफ्नो घरका सदस्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका लागि धन त्रयोदशीका दिन आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न दियो बाल्ने चलन छ । आर्य संस्कृति अनुसार स्वास्थ्यलाई धन सम्पत्तिभन्दा महत्वपूर्ण वस्तुका रूपमा मानिन्छ । त्यसैले धनधान्य र सम्मृद्धिकी देवी माता लक्ष्मीको पूजा तथा उपासनासँगै यमराजको पनि उपासना र पूजा गरिन्छ । तिहार जस्मा ५ दिन मनाइन्छ ।
धनतेरसमा अधिकांश सुनचाँदी, तामा लगायतका पूजा सम्बन्धी सामाग्री खरिद गर्ने भएकाले यस अवधिमा चाँदीको कारोबार उल्लेख्य रुपमा हुने गर्दछ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हरेक वर्षको तिहारमा ३ हजार केजीको हाराहारीमा चाँदीको कारोबार हुने गर्छ । यसपाली कोरोना संक्रमणका कारण ५० प्रतिशतले कारोबारमा गिरावट आउने महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । यसपालीको तिहारमा १ हजार ५ सय केजीको हाराहारीमा चाँदीका सामाग्री विक्री हुने महासंघको आँकलन छ । कोरोना संक्रमणका कारण सुन व्यवसायमा जस्तो निराशाजनक कारोबार चाँदीमा नभएको पूर्व अध्यक्ष शाक्यले बताए । चाँदीका सामाग्रीहरु प्रायः तयारी अवस्थामै रहेकाले अभाव नहुने उनको भनाइ थियो ।































प्रतिक्रिया