काठमाडौँ
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेका बाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलार्इ निर्देशन दिएका छन् ।
विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दी भन्दा बढी कर्मचारी बसेको खबर सार्वजनिक भएपछि मन्त्री विष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । स्थानीय तहमा खटाइएका ती कर्मचारी पहुँचका आधारमा त्यहाँ बसिरहेका थिए ।
वैदेशिक रोजगार कार्यालयमा गैरकानुनी आर्थिक स्रोत गतिलो हुने भएकाले कर्मचारी अन्यत्र जान मान्दैनन् । राजनीतिक दबाबका कारण त्यहाँ बढी भएका कर्मचारीलाई अन्यन्त्र खटाउन नसकिएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो । ‘आकर्षक कार्यालयमा यस्तो धेरै समस्या छ, थोरै चलाउन थाल्यो भने पहुँचवालाको फोन बजिहाल्छ,’ स्रोतले भन्यो । वैदेशिक रोजगार कार्यालय ताहाचलका निमित्त प्रमुख प्रेम बहादुर देसारले भने कर्मचारीलाई काम गर्न सहज भएकाले अन्यत्र जान नचाहेको बताए । ‘यहाँ काम गर्न पनि सहज छ, त्यही भएर होला,’ उनले हाँस्दै भने ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया