काठमाडौं ।
संघीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोच सम्बन्धी जानकारी लिएपछि समितिको आजको बैठकले उनीहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
सरकारले अमेरिकामा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, बेलायतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा डा निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरीे अनुमोदनका लागि समितिमा पठाएको थियो । बैठकमा प्रस्तावित राजदूतत्रयले तत्तत् देशमा गएर आर्थिक कूटनीतिलाई प्रबर्धन गर्दै मुलुकमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाए ।
राजदूूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेशा व्यवसाय गरी रहेबसेका नेपालीको हितमा काम गर्ने बताउँदै उनीहरुले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन भरमग्दुर प्रयास गर्ने अठोट पनि व्यक्त गरेका थिए ।
प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजूरी परे पनि उजुूरीकर्ता भने समितिसमक्ष उपस्थित भएन्न । यसअघि बैठकमा सदस्यले उनीहरुलाई लक्ष्य गरी परेका उजुरीबारे स्पष्टीकरण माग गर्दै मुलुकको आवश्यकतालाई बुुझी प्राथमिकता तोकेर काम गर्न सुझाव दिए। प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक प्रावधान छ ।रासस































प्रतिक्रिया