काठमाडौँ
फागुन २९ गतेको राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम छ । उम्मेदवारको दाबी विरोधमा उजुरी दिने समय पनि आज नै हुनेछ । राष्ट्रपतिका लागि उम्मेदवार छान्न दलहरू अन्तिम तयारी गरिरहेका छन् । वाम गठबन्धनको सहमति अनुसार एमालेको भागमा परेको राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई दोहोर्याउने एमालेले हिजो अबेर निर्णय गरिसकेको छ । काँग्रेसले पनि आफ्नो उमेद्वार छान्नका लागि आज विहानका लागि वैठक बोलाएको छ ।
राष्ट्रपतिको निर्वाचनमा संघीय संसद र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगका अनुसार संघीय संसद सदस्य मतदाताका लागि निलो र प्रदेश संसद सदस्य मतदाताका लागि रातो रङको मतपत्र प्रयोग हुनेछ । आयोग मतदाता संख्या अनुसार दुई रङको मतपत्र छाप्ने तयारीमा रहेको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभाका तर्फबाट ५ सय ५० सदस्य छन् भने संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य गरी कुल ८ सय ८४ सदस्य रहेका छन् । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सोमबार सार्वजनिक गरेको थियो । नामावलीमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभा संसद्का ५ सय ४९ जना गरी राष्ट्रपति निर्वाचनमा ८ सय ८० जना मतदाताको मात्र नाम रहेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया