काठमाडौं
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनको नयाँ मिति तय गर्न र सार्कका गतिविधि प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका पाकिस्तानी समकक्षी साहिद खाकान अब्बासी बीच छलफल भएको छ । क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन सार्क सदस्य राष्ट्रबीच रहेका असमझदारी हटाउँदै अघि बढ्नु पर्नेमा दुवै प्रधानमन्त्रीहरू सकारात्मक बनेका छन् । यसअघि सन् २०१६ को नोभेम्बर ९ र १० तारिखका लागि पाकिस्तानमा तय भएको सार्कको १९ औं सम्मेलन भारत–पाकिस्तान सम्बन्धका कारण स्थगित भएको थियो ।
भारत सहित केही मुलुकले अन्य मुलुकमा भए पनि सम्मेलन गर्ने सकिने बताइरहेका बेला १९ औं सम्मेलनका लागि आफ्नो मुलुक प्रतिबद्ध रहेको पाकिस्तानले बताउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आर्थिक समृद्धि र क्षेत्रीय सहकार्यका लागि सार्कले गति लिनु पर्ने बताएका छन् । सोमबार साँझको द्विपक्षीय भेटवार्तामा यस्तो छलफल भएको हो ।
दुवै प्रधानमन्त्री बीच द्विपक्षीय आर्थिक सहयोगका कार्यक्रम बढाउन शिक्षा, पर्यटन, व्यापार, सुरक्षा जस्ता आपसी सहयोगका विषयमा छलफल भएको काठमाडौं स्थित पाकिस्तानी दूतावास स्रोतले जनाएको छ । द्विपक्षीय सहयोगका क्षेत्र पहिचान गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने बारेमा पनि उनीहरू बीच छलफल भएको छ । यही क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आफ्ना समकक्षी ओलीलाई भ्रमणको निम्तो दिएका छन् । सो निम्तोलाई सकारात्मक रूपमा लिँदै ओलीले उपयुक्त समयमा भ्रमण गर्ने बताएका ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया