काठमाडौँ
नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेर बहादुर देउवालाई दुई तिहाइ मतले जिताउने प्रयास थालेको छ । संस्थापन पक्षका नेताहरू शनिबार दिनभर पौडेल पक्षका सांसद्हरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहे ।
आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीन वटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका आधारमा दलको नेतामा देउवा उम्मेदवार बन्न नहुने तर्क पौडेल पक्षको छ । तर संस्थापन पक्ष भने कांग्रेसले आफ्नो नेतृत्वमा संविधान कार्यान्वयनका लागि चुनाव गराएर ऐतिहासिक काम गरेको बताउँछ ।
संस्थापन पक्षका नेता सांसद बालकृष्ण खाँणले दलको नेतामा देउवा सभापतिको उम्मेदवार बन्ने र उनले दुई तिहाइले जित्ने बताए । ‘सभापतिले नेता बन्ने चाहना राखेपछि अन्य नेता सर्वसम्मत बनाउन राजी हुनु पर्ने हो । कसैले प्रतिष्ठाको विषय बनाएर सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने पक्का भएको छ,’ खाणले भने, ‘सभापति जी उम्मेदवार बन्नु हुन्छ । दुई तिहाइ मतले नेतामा जित्ने निश्चित छ, त्यस भन्दा बढी मत ल्याउने कोसिस हामीले गरिरहेका छौँ ।’
सोमबार हुने दलको नेता निर्वाचनका लागि आइतबार (आज) उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन समितिले तोकेको छ । निर्वाचन समितिका अनुसार अपराह्न ६ बजे देखि साँढे ७ बजे सम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मतदान सोमबार बिहान १० बजे देखि दिउँसो १ बजे सम्मका लागि तोकिएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया